
काठमाडौं — सरकारले इजरायलसहित चार देशका लागि पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । पछिल्लो समय मध्यपूर्वमा विकसित सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै स्थगित गरिएको स्वीकृति पुनः सञ्चालनमा ल्याइएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चैत ३१, २०८२ मा बसेको मन्त्रीस्तरीय बैठकले इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको जनाएको छ ।
यसअघि इजरायल–अमेरिका–इरानबीचको तनाव र युद्धको जोखिमका कारण ती देशहरूमा श्रम स्वीकृति स्थगन गरिएको थियो । उक्त निर्णय सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै लिइएको थियो ।
वैदेशिक रोजगार विभागका अनुसार, इराकका हकमा भने २०८२ पुस ११ गतेको पूर्व निर्णयअनुसार नै श्रम स्वीकृति प्रदान गरिनेछ ।
यसअघि श्रम मन्त्रालयले फागुन १७, २०८२ मा साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन, टर्की, इजरायल, कुवेत, बहराइन, लेबनान र इराकका लागि श्रम तथा पुनः श्रम स्वीकृति स्थगन गरेको थियो। इरानद्वारा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा ड्रोन तथा क्षेप्यास्त्र आक्रमण बढेपछि ती देशमा रहेका नेपाली नागरिकको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको थियो ।
पछि चैत ३ गते साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि पुनः श्रम स्वीकृति आंशिक रूपमा खुला गरिएको थियो ।
परराष्ट्र मन्त्रालय अन्तर्गतको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ (ERT) को सिफारिसका आधारमा श्रम मन्त्रालयले बाँकी देशहरूका लागि समेत पुनः श्रम स्वीकृति खुला गरेको हो ।
तर, नयाँ श्रम स्वीकृतिको हकमा भने सम्बन्धित देशहरूको सुरक्षा अवस्था पूर्ण रूपमा सामान्य भएपछि मात्र निर्णय गरिने मन्त्रालयले स्पष्ट पारेको छ ।









