
काठमाडौं — नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
पार्टीको केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई लिखित रूपमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
अनुशासन समितिका अनुसार, खड्काले पार्टीको आधिकारिक लेटरहेडको दुरुपयोग गरी चैत १४ गते वक्तव्य जारी गरेको विषयमा यसअघि चैत १८ गतेको बैठकले उनलाई एकपटकका लागि सचेत गराएको थियो। तर, त्यसपछि पनि उनले चैत ३० गते पुनः आफ्नो अधिकार क्षेत्र बाहिरका विषय उल्लेख गर्दै आफू अझै पार्टी जिम्मेवारीमै रहेको दाबी सहित प्रेस विज्ञप्ति सार्वजनिक गरेका थिए।
समितिले उक्त कार्यलाई पार्टीको विधान विपरीत ठहर गर्दै नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४, उपधारा ८ (घ) अनुसार ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको जनाएको छ । ***








