टोकियो – करिव दुई दशकदेखि जापानलाई कर्मभूमि बनाउँदै आएकी समिना खड्का लोहनीले गायक सूर्य खड्कासंगको सहकार्यमा ‘श्री पशुपति’ भजनको म्युजिक भिडियो बजारमा ल्याएकी छिन् । उनीहरुलाई अर्का गायक महेन्द्र न्यौपानेले स्वरमा साथ दिएका छन् ।
शिव अखेलीको शब्द-संगीत र रमेश सेञ्चुरीको संगीत संयोजनमा तयार पारिएको ‘श्री पशुपति’ भजनको छायाङ्कन जापानमै गोबिन्द बिष्टले गरेका हुन् ।
भजनमा साँसारिक माया-मोह र दुखपीरबाट मनमा शान्ति र मोक्ष प्राप्तिको यात्रामा अगाडि बढ्न आध्यात्मिक चिन्तनलाई आत्मसाथ गर्नुपर्ने सन्देश दिन खोजिएको छ । कुशल शब्द संयोजन, सरल भाषा र शैलीमा धाराबाहिक प्रवाहमा भजन सलल बगेको पाईन्छ । भजनले मनमा शान्ति प्रदान गर्नुका साथै मनोरञ्जनपूर्ण विशेष खुराक पस्कन सफल रहेको दर्शक-स्रोताहरुको प्रतिक्रिया छ ।
सूर्य खड्का युट्युव च्यानलबाट हालैमात्र सार्बजनिक गरिएको ‘श्री पशुपति’ गायिका लोहनीको पहिलो भजन सिर्जना हो । यसअघि उनले २०८१ मा ‘घरै धानिछु’ र २०८२ मा ‘झोला ठूलो भयो’ तीजको गीत बजारमा ल्याईसकेकी छिन् ।
धौलागिरी भजन समुह जापानको प्रस्तुती ‘श्री पशुपति’ हेरेर-सुनेर सुझाव, सल्लाह तथा प्रतिक्रिया दिन र साथ-सपोर्ट गर्न स्वदेश तथा विदेशमा रहनेका गीत-संगीतप्रेमी नेपालीजनहरुमा गायिका लोहनीले अपिल गरेकीछिन् ।***








