काठमाडौँ – नेपाली कांग्रेसले आगामी वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ। आन्तरिक मतभेदका कारण लामो समयदेखि नेता छनोट हुन सकेको थिएन। संसदीय दलको नेता चयनमा अब ढिला नगर्ने महामन्त्री गुरुराज घिमिरेले बताए। उनका अनुसार सकेसम्म सहमतिमै टुंग्याउने प्रयास भइरहेको छ। तर सहमति नभए निर्वाचनमार्फत नेतृत्व चयन गरिनेछ।
पार्टीभित्र हाल सहमतिका लागि सक्रिय छलफल भइरहेको पनि उनले बताए। संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्म आङदम्बे र मोहन आचार्यलगायत नेताहरूले दाबी प्रस्तुत गरेका छन्। सभापति गगन थापाका ससुरा समेत रहेका केसीले आफ्नो दाबी कायम राखेका छन्।
यद्यपि, उपसभापति विश्वप्रकाश शर्माले उनलाई विश्राम लिन सुझाव दिइसकेका छन्। उता, पूर्वसभापति शेरबहादुर देउवा निकट मानिने आङदम्बेले पनि पछिल्लो समय संस्थापन पक्षसँग नजिकिँदै नेतृत्वका लागि सक्रियता देखाएका छन्।








