काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगातार दुई दिन सार्वजनिक बिदा परे पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न अस्पतालहरूलाई आवश्यक तयारी गर्न निर्देशन दिएको छ। सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेपछि पनि नागरिकलाई सेवा दिन कुनै अवरोध नहोस् भन्ने उद्देश्यले मन्त्रालयले यस्तो व्यवस्था मिलाउन सबै स्वास्थ्य संस्थालाई आग्रह गरेको हो।
मन्त्रालयका अनुसार अस्पतालहरूले आफ्नो कार्यभार र उपलब्ध जनशक्तिको अवस्था मूल्याङ्कन गर्दै आइतबार पनि ओपिडी सेवा सञ्चालन गर्नुपर्नेछ। आइतबार काममा खटिने कर्मचारीलाई भने शनिबार बाहेक साताको अर्को दिन बिदा दिनुपर्ने वा सो सम्भव नभए सट्टा बिदाको व्यवस्था गर्नुपर्नेछ। यो व्यवस्था प्रादेशिक अस्पतालहरूमा समेत लागू हुने जनाइएको छ। साथै, सम्बन्धित प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई आवश्यक समन्वय गरेर कार्यान्वयन गर्न पनि निर्देशन दिइएको छ।
मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन कामको चाप र जनशक्ति अनुसार आइतबार ओपिडी सञ्चालन गर्न भनिएको छ।








