समाचार सुन्नुहोस :
काठमाडौँ – सरकारले भारतसहित विभिन्न ६ देशमा कार्यरत नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले राजनीतिक नियुक्तिका आधारमा पठाइएका राजदूतहरूलाई हटाउने निर्णय गरेको हो।
फिर्ता बोलाइएकामध्ये भारतका लागि राजदूत डा. शङ्करप्रसाद शर्मा रहेका छन्। त्यस्तै दक्षिण कोरिया लागि डा. शिवमाया तुम्बाहाङ्फे र अस्ट्रेलियाका लागि चित्रलेखा यादव पनि समावेश छन्। उनीहरू पूर्वसांसद तथा प्रमुख राजनीतिक दलसँग सम्बन्धित व्यक्तित्व हुन्। यसैगरी श्रीलङ्काका डा. पूर्णबहादुर नेपाली, डेनमार्कका सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका कपिल श्रेष्ठलाई पनि फिर्ता बोलाइएको छ। यी सबै राजदूतहरू पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला नियुक्त भएका थिए।
सरकारको यस निर्णयपछि हाल १७ वटा नेपाली दूतावास राजदूतविहीन भएका छन्। परराष्ट्र मन्त्रालयले रिक्त स्थानमा छिट्टै नयाँ नियुक्ति गर्ने तयारी भइरहेको जनाएको छ। फिर्ता बोलाइएका राजदूतलाई एक महिनाभित्र फर्किन निर्देशन दिइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले यसअघि नै राजनीतिक नियुक्ति लिएका व्यक्तिलाई मार्गप्रशस्त गर्न आग्रह गरेको थियो। तर राजीनामा नआएपछि सरकार बाध्य भएर फिर्ता बोलाउने निर्णयमा पुगेको हो।








