समाचार सुन्नुहोस :
काठमाडौँ – शंकर ग्रुपका सञ्चालक शुलभ अग्रवाललाई पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएको छ। उनलाई रुपन्देहीको भैरहवाबाट नियन्त्रणमा लिएर सम्बन्धित निकायमा उपस्थित गराइएको हो। यसअघि उनका बुवा शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार नै पक्राउ गरिसकेको थियो। बुवापछि छोरा शुलभ पनि अनुसन्धानको दायरामा परेका हुन्।
सम्पत्ति शुद्धीकरण विभागले शुलभलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ। पछिल्लो समय भारतमा रहेको भनिएका उनलाई नेपालमै पक्राउ गरिएको हो। प्रहरीका अनुसार, यसअघि पक्राउ परेका शंकर अग्रवालले नै शुलभलाई अनुसन्धानका लागि उपस्थित हुन आग्रह गरेको दाबी गरिएको छ। शंकर र शुलभ दुवै जना व्यवसायी दीपक भट्टसँगको सम्बन्धका कारण अनुसन्धानमा तानिएका हुन्।
दीपक भट्ट यसअघि नै पक्राउ परिसकेका छन् र उनीमाथि विभिन्न अभियोगमा छानबिन भइरहेको छ। उनी विवादमा आएको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका पूर्व अध्यक्ष समेत हुन्। भट्टले चैत १९ गते कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए, जसलाई चैत २० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृति दिएको थियो।








