समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्याल प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध भएका छन्। यद्यपि उनको औपचारिक निर्वाचित घोषणा भने बाँकी छ। सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको थियो। सो अवधिमा अर्यालको मात्रै उम्मेदवारी परेको हो।
प्रतिनिधिसभा नियमावलीअनुसार, यदि सभामुख पदमा एक मात्र उम्मेदवारी दर्ता भएमा प्रस्तावमाथि छलफलपछि सभामुखले सम्बन्धित सदस्य निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था छ। अब आइतबार बस्ने प्रतिनिधिसभा बैठकले उनलाई औपचारिक रूपमा सभामुख चयन गर्नेछ।
हालको प्रतिनिधिसभामा कुल २७५ सदस्य छन्। जसमा रास्वपाका १८२ सांसद छन्। त्यस्तै नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद रहेका छन्। रास्वपाको स्पष्ट बहुमत नजिक रहेको अवस्थामा अन्य दलहरूले सभामुख पदमा उम्मेदवारी नदिएको बताइएको छ।








