समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको पहिलो बैठकमा दिएको अभिव्यक्तिले पार्टीभित्र तीव्र असन्तुष्टि सिर्जना गरेको छ। विवाद बढेपछि शुक्रबारका लागि सचिवालय बैठक बोलाइएको छ। जहाँ यस विषयमा गम्भीर छलफल हुने बताइएको छ।
थापाले संसदमा बोल्दै निर्वाचनमा पार्टीको हारका लागि नेपाली सेना, कर्मचारी र विदेशी पक्षलाई दोष दिएका थिए। उनको यस्तो भनाइ पार्टीको स्थापित नीति विपरीत भएको भन्दै नेताहरूले आलोचना गरेका छन्।
उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव योगेश भट्टराई र नेता सुरेन्द्र पाण्डेले थापाको अभिव्यक्ति अनुचित भएको बताएका छन्। केही नेताले त उनलाई कारबाही गर्नुपर्ने आवाजसमेत उठाएका छन्।
यसअघि संसदीय दलको नेता चयन प्रक्रियामा पनि असन्तुष्टि देखिएको थियो। युवा नेता सुहाङ नेम्वाङलाई अवसर नदिइएको भन्दै आलोचना भइरहेको बेला थापाको पछिल्लो अभिव्यक्तिले विवाद झन् चर्किएको छ।








