टोकियो – जापानको प्रसिद्ध माउन्ट फुजी विस्फोट भएमा राजधानी टोकियोमा पर्न सक्ने प्रभाव र जोखिम न्यूनीकरणका लागि जापान सरकारले रणनीतिक तयारी थालेको छ । मन्त्रिपरिषद् कार्यालय र टोकियो महानगर सरकारले एक उच्चस्तरीय काउन्सिलको बैठक आयोजना गरी ज्वालामुखीबाट निस्कने खरानी व्यवस्थापन र आधारभूत पूर्वाधार सुचारु राख्ने विषयमा छलफल गरेका छन् ।
करिब १ करोड ४० लाख जनसंख्या भएको टोकियोलाई ‘मोडल’ मानेर सुरु गरिएको यस योजनामा रेलमार्ग, सडक, सञ्चार र विद्युत् आपूर्तिजस्ता अत्यावश्यक सेवालाई कसरी निरन्तरता दिने भन्नेमा जोड दिइएको छ । काउन्सिलले दैनिक जनजीवन सामान्य राख्न, नागरिकलाई समयमै सूचना प्रवाह गर्न र सडकमा थुप्रिने खरानी व्यवस्थापन गर्न छुट्टाछुट्टै कार्यदलसमेत गठन गर्ने भएको छ ।
सरकारी अनुमान अनुसार, भीषण विस्फोटको अवस्थामा टोकियोका धेरै क्षेत्रमा २ देखि १० सेन्टिमिटरसम्म खरानी थुप्रिन सक्छ। यद्यपि, खरानीले तत्कालै ज्यान जाने जोखिम नहुने हुँदा सरकारले नागरिकहरूलाई सम्भव भएसम्म घरभित्रै बसेर दैनिक क्रियाकलाप जारी राख्न प्रोत्साहित गर्ने नीति लिएको छ ।
यस तयारीमा टोकियोका छिमेकी प्रान्तहरू साइतामा, चिवा र कानागावाका साथै निजी क्षेत्रका रेल र सञ्चार सेवा प्रदायकहरूको पनि सहभागिता रहेको छ । काउन्सिलले सन् २०२६ सम्ममा ठोस कार्ययोजना तयार पारी त्यसलाई विपद् व्यवस्थापन र ‘बिजनेस कन्टिन्युटी प्लान’ मा समावेश गर्ने लक्ष्य राखेको छ । माउन्ट फुजी पहाड जापानको सिजुओका र यामानासी प्रान्तको सिमानामा अवस्थित छ ।








