Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – जापानमा बसोबास गर्ने विदेशी नागरिकको संख्याले नयाँ कीर्तिमान कायम गरेको छ । सन् २०२५ को अन्त्यसम्ममा जापानमा विदेशीहरूको संख्या ४१ लाख ३० हजार पुगेको छ, जुन इतिहासमै पहिलोपटक ४० लाखको बिन्दु नाघेको हो ।

शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार, स्थायी बासिन्दा र विदेशी कामदारको संख्यामा भएको वृद्धिका कारण यो ऐतिहासिक उचाइ कायम भएको हो । जापानको ‘इमिग्रेसन सर्भिसेस एजेन्सी’का अनुसार सन् २०२५ को अन्त्यसम्ममा जापानमा कुल ४१ लाख २५ हजार ३९५ विदेशी नागरिक बसोबास गरिरहेका छन् । यो अघिल्लो वर्षको तुलनामा ९.५ प्रतिशतको वृद्धि हो । योसँगै जापानमा लगातार चौथो वर्ष विदेशीको सङ्ख्याले नयाँ रेकर्ड कायम गरेको छ ।

हाल जापानको कुल जनसंख्यामा विदेशीहरूको हिस्सा ३.३६ प्रतिशत पुगेको छ, जुन गत वर्ष ३.०४ प्रतिशत मात्र थियो । कुल विदेशीमध्ये करिब ९ लाख ४७ हजार स्थायी निवासी (पर्मानेन्ट रेसिडेन्ट) छन् भने इन्जिनियरिङ, मानविकी र अन्य विशेषज्ञता आवश्यक पर्ने कार्यक्षेत्रमा भिसा प्राप्त गर्नेहरूको सङ्ख्या ४ लाख ७५ हजार रहेको छ ।

नेपालीको सङ्ख्या ३ लाख पुग्यो
जापानमा रहेका विदेशी नागरिकहरूको सूचीमा राष्ट्रियताका आधारमा चिनियाँहरू सबैभन्दा अगाडि छन् । जापानमा चिनियाँ नागरिकको सङ्ख्या ९ लाख ३० हजार रहेको छ । दोस्रो स्थानमा ६ लाख ८१ हजार भियतनामी र तेस्रोमा ४ लाख ७ हजार दक्षिण कोरियाली रहेका छन् ।

यस्तै, जापानमा बसोबास गर्ने फिलिपिन्सका नागरिकको सङ्ख्या ३ लाख ५६ हजार पुग्दा नेपालीको सङ्ख्या ३ लाख पुगेको छ । दक्षिण एसियाली मुलुक श्रीलंकाको उपस्थितिमा पनि उल्लेख्य सुधार देखिएको छ । सन् २०२४ मा १२औँ स्थानमा रहेको श्रीलंका सन् २०२५ मा ७९ हजार नागरिकसहित नवौँ स्थानमा उक्लिएको छ ।

कडा आप्रवासन नीतिका लागि चिनिने जापानले पछिल्लो समय आफ्नो नीतिमा क्रमिक सुधार गर्दै ढोका खुल्ला गर्न थालेको छ । जापानको समाज तीव्र गतिमा बुढ्यौलीतर्फ गइरहेको र युवा जनशक्तिको अभावका कारण श्रम बजारमा देखिएको सङ्कट समाधान गर्न सरकारले विदेशी कामदार भित्र्याउने नीति लिएको हो ।

विदेशी कामदारका लागि नीति खुकुलो बनाए पनि शरणार्थी स्वीकार गर्ने मामिलामा भने जापान अझै पनि अनुदार देखिएको छ । एजेन्सीका अनुसार गत वर्ष १८७ जनालाई मात्र शरणार्थीको रूपमा मान्यता दिइएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३ जनाले कम हो । शरणार्थीको मान्यता पाउनेमा १२३ अफगानी, २६ येमनी र ११ चिनियाँ नागरिक छन् ।

यस्तै, ‘पूरक सुरक्षा प्रणाली अन्तर्गत द्वन्द्वग्रस्त क्षेत्रबाट भागेर आएका ४७४ जनालाई (मुख्यतः युक्रेनी) जापानले आश्रय दिएको छ । यद्यपि, यो सङ्ख्या सन् २०२४ को तुलनामा १,१८७ ले न्यून हो । मानवीय आधारमा अन्य ५२५ जनालाई आवासीय अनुमति दिइएको छ ।

शरणार्थी दर्जाका लागि आवेदन दिनेको सङ्ख्यामा पनि ८.७ प्रतिशतले गिरावट आई ११ हजारमा झरेको छ । जापान सरकारले गत मे महिनादेखि “सुरक्षा र निश्चिन्तताका लागि अवैध आप्रवासी हटाउने” योजना अघि सारेसँगै आवेदन दिनेको सङ्ख्या घटेको बताइएको छ । शरणार्थी प्रणालीको दुरुपयोग र दुरुपयोग रोक्न चालिएको यो कदम प्रभावकारी देखिएको दाबी आप्रवासन एजेन्सीले गरेको छ ।

तपाईको प्रतिक्रिया