Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – जापानको रेस्टुरेन्ट (खाद्य सेवा) क्षेत्रमा ‘निर्दिष्ट दक्ष कामदार’ (स्पेसिफाइड स्किल्ड वर्कर- एसएसडब्लु) कार्यक्रम अन्तर्गत काम गर्न आउने विदेशीहरूको संख्या सरकारले तोकेको सीमा (क्याप) नजिक पुगेको छ । यससँगै जापानी अधिकारीहरूले आगामी अप्रिल १३ (बैशाख १ गते) देखि नयाँ कामदारका लागि आवश्यक पर्ने ‘सर्टिफिकेट अफ इलिजिबिलिटी’ (सिओई) जारी गर्ने कार्य अस्थायी रूपमा स्थगित गर्ने घोषणा गरेका छन् ।

जापान सरकारले सन् २०२९ मार्चसम्म १९ वटा विभिन्न औद्योगिक क्षेत्रमा कुल ८ लाख विदेशी कामदार भित्र्याउने लक्ष्य राखेको छ । जसमध्ये रेस्टुरेन्ट क्षेत्रका लागि ५० हजारको कोटा निर्धारण गरिएको थियो । तर, पछिल्लो समय यो क्षेत्रमा कामदारको आकर्षण अत्यधिक बढेपछि आगामी मे महिनाभित्रै तोकिएको ५० हजारको सीमा नाघ्ने सरकारी अधिकारीहरूको प्रक्षेपण छ ।

गत जनवरीमा प्रणाली संशोधन गरिएपछि कामदार भर्ना प्रक्रिया नै रोक्न लागिएको यो पहिलो पटक हो । जापानको कृषि मन्त्रालयका अनुसार, कोरोना महामारीपछि पर्यटकहरूको आगमनमा भएको उल्लेख्य वृद्धि र आन्तरिक श्रम शक्तिको चरम अभावका कारण रेस्टुरेन्टहरूले ठूलो संख्यामा विदेशी कामदार माग गरिरहेका छन् ।

जापानको अध्यागमन सेवा एजेन्सीले विदेशी कामदारको संख्या घटेर निश्चित स्तरमा आएपछि मात्र पुनः प्रमाण-पत्र (सिओई) जारी गर्ने विषयमा छलफल गरिने जनाएको छ । यो निर्णयले विशेषगरी जापानमा रेस्टुरेन्ट क्षेत्रमा रोजगारी खोजिरहेका नेपालीलगायत अन्य मुलुकका कामदारहरूलाई तत्कालका लागि प्रभाव पार्ने देखिन्छ । यद्यपि, यो प्रतिबन्ध अस्थायी मात्र भएको र कोटा व्यवस्थापन भएपछि पुनः सुचारु हुने बताइएको छ । अन्य औद्योगिक क्षेत्रका हकमा भने भर्ना प्रक्रिया यथावत रहनेछ ।

तपाईको प्रतिक्रिया