काठमाडौं – चुरेमा पानीको भण्डार र मधेशमा अन्नको भकारी भएर पनि सधैँ ‘रित्तो कचौरा’ लिएर काठमाडौँसँग न्यायको भिख माग्नुपर्ने नियतिको अब अन्त्य हुने संकेत देखिएको छ । महोत्तरीको एकडाराका ‘धर्तीपुत्र’ बालेन्द्र शाह (बालेन) मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) नियुक्त भएसँगै मधेशका बस्ती-बस्तीमा मात्र होइन, सिङ्गो देशमा सुशासन र परिवर्तनको नयाँ आशा पलाएको छ ।
दशकौँदेखि विभेदको चोट सहँदै आएको मधेशले बालेनको उदयलाई केवल सत्ताको परिवर्तन मात्र नभई, न्याय र आत्मसम्मानको नयाँ युगको सुरुवातका रूपमा लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शाहलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त प्रधानमन्त्री शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ र उनीहरू सबैले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कुन मन्त्री कस्ता ?
नयाँ सरकारमा विभिन्न क्षेत्रका विज्ञ र युवा अनुहारको बाहुल्यता देखिएको छ । देशको जर्जर अर्थतन्त्र सुधार्ने जिम्मा अर्थविद् डा. स्वर्णिम वाग्लेले पाएका छन् । उनले आगामी सात वर्षभित्रै नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १०० अर्ब डलर पुर्याउने लक्ष्य राखेका छन् । त्यस्तै, परराष्ट्रमा शिशिर खनाल र गृहमा सुधन गुरूङले जिम्मेवारी पाएका छन् । गुरूङले आफूले राज्यबाट पाउने कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेर नयाँपन दिएका छन् ।
अर्थतन्त्र सुधार्ने जिम्मा डा. स्वर्णिम वाग्लेलाई
देशको अर्थतन्त्रलाई गति दिने जिम्मेवारी अर्थविद् डा. स्वर्णिम वाग्लेले पाएका छन् । तनहुँ-२ बाट निर्वाचित वाग्ले रास्वपाका उपसभापति हुन् । अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका उनले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको एसिया प्रशान्त क्षेत्रको प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गरिसकेका छन् । उनले विगतमा पनि अर्थतन्त्रका विकृति तोड्नुपर्नेमा जोड दिँदै आएका थिए ।
परराष्ट्रमा खनाल र गृहमा गुरूङ
काठमाडौं क्षेत्र नम्बर ६ का सांसद शिशिर खनाल परराष्ट्रमन्त्री नियुक्त भएका छन् । अमेरिकाबाट सार्वजनिक नीतिशास्त्रमा स्नातकोत्तर गरेका उनले ‘टिच फर नेपाल’ मार्फत शैक्षिक सुधारमा काम गरेका थिए । उनले विगतमा अन्तर्राष्ट्रिय समितिको सदस्य भएर पनि अनुभव बटुलेका छन् ।
त्यस्तै, गोरखा-१ बाट निर्वाचित सुधन गुरूङ गृहमन्त्री बनेका छन् । ३८ वर्षीय गुरूङले आफूले राज्यबाट पाउने कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका छन् । उनले २०७२ सालको महाभूकम्प र ‘जेनजी’ आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए । उनले आफू गृहमन्त्री बन्ने सर्तमा चुनाव लडेको बताएका थिए ।
ऊर्जामा श्रेष्ठ र कानुनमा गौतम
काठमाडौं-८ का सांसद विराजभक्त श्रेष्ठले ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनी यसअघि खेलकुद मन्त्री भइसकेका व्यक्ति हुन् । कानुनमन्त्रीमा सोबिता गौतम नियुक्त भएकी छिन् । चितवन-३ मा रेनु दाहाललाई पराजित गरेकी उनी कानुनकी विद्यार्थी हुन् । उनले संसदमा विभिन्न विधेयकमा संशोधन प्रस्ताव हाल्दै सक्रिय भूमिका निभाएकी थिइन् ।
सीमान्तकृतको प्रतिनिधित्व र शिक्षामा नयाँ अनुहार
वादी समुदायबाट पहिलो पटक सीता वादी मन्त्री बनेकी छिन् । उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको कार्यभार सम्हालेकी छिन् । सुर्खेतको झुप्रा खोलामा बालुवा चालेर हुर्किएकी उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छिन् । राजनीति आफ्नो समुदायको अस्तित्व खोज्ने प्रयास भएको उनले बताइन् ।
काठमाडौं-५ बाट निर्वाचित सस्मित पोखरेल शिक्षा, युवा तथा खेलकुद मन्त्री बनेका छन् । उनले चुनावमा हेभीवेट उम्मेदवारहरूलाई पराजित गरेका थिए । शिक्षाको गुणस्तर सुधार गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताएका छन् ।
सञ्चार, प्रशासन र पर्यटन
नुवाकोट-१ का सांसद डा. बिक्रम तिमल्सिना सूचना तथा सञ्चार मन्त्री बनेका छन् । राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका उनले पहिले सञ्चारकर्मीका रूपमा पनि काम गरेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा प्रतिभा रावलले पाएकी छिन् । उनी यसअघि पत्रकारितामा सक्रिय थिइन् । पर्यटकीय नगरी पोखराका लेखक गनेश पौडेल पर्यटन तथा संस्कृति मन्त्री बनेका छन् । उनले अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन् ।
कृषि, पूर्वाधार र स्वास्थ्यमा विज्ञता
कञ्चनपुरकी गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन मन्त्री बनेकी छिन् । कानुनमा स्नातकोत्तर गरेकी उनले गरिब र सुकुम्बासीका मुद्दामा काम गर्दै आएकी थिइन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मा इन्जिनियर सुनिल लम्सालले पाएका छन् । रूपन्देही-१ बाट निर्वाचित लम्साल प्रधानमन्त्री शाहका निकट सहयोगी हुन् । उनले काठमाडौं महानगरमा पूर्वाधार सल्लाहकारका रूपमा काम गरेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता र श्रममन्त्रीमा डा. दीपक साह नियुक्त भएका छन् । मेहता नर्सिङ पृष्ठभूमिकी हुन् भने साहले लन्डनबाट स्वास्थ्य नीति र योजनामा उच्च शिक्षा हासिल गरेका छन् ।








