टोकियो – जापानको टोकियोस्थित इकेबुकुरो जिल्लामा रहेको चर्चित व्यावसायिक कम्प्लेक्स ‘सनसाइन सिटी’ मा बिहीबार साँझ एक व्यक्तिले धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरेका छन् । महिलामाथि आक्रमण गरेलगत्तै ती पुरुषले पनि आफैँलाई छुरा प्रहार गरी आत्महत्या गरेका छन् ।
प्रहरीका अनुसार घटना भवनको दोस्रो तलामा रहेको ‘पोकेमोन सेन्टर मेगा टोकियो’ पसलमा भएको हो । साँझ करिब ७:२० बजे एक व्यक्ति पसलभित्र प्रवेश गरी सिधै काउन्टर पछाडि पुगेर त्यहाँ कार्यरत २० वर्षीया सेल्स क्लर्क (बिक्री कर्मचारी)माथि छुरा प्रहार गरेका थिए ।
घटनालगत्तै गम्भीर घाइते अवस्थामा दुवैलाई अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । सुरक्षा क्यामेरा (सीसीटीभी) फुटेजमा ती व्यक्ति एक्लै पसलमा आएको र सिधै काउन्टरमा रहेकी महिलामाथि जाइलागेको देखिएको छ । प्रहरीले यस घटनालाई हत्याको रूपमा दर्ता गरी आक्रमणको कारणबारे विस्तृत अनुसन्धान सुरु गरेको छ ।








