टोकियो – जापानको राजधानी टोकियोस्थित संसद् भवन (डाइट) अगाडि हजारौंको संख्यामा नागरिकहरूले विशाल प्रदर्शन गरेका छन् । मार्च २५ को साँझ आयोजित उक्त प्रदर्शनमा सहभागीहरूले जापानको शान्तिपूर्ण संविधान संशोधनको विरोध गर्नुका साथै इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणको कडा निन्दा गरेका छन् ।
आयोजकका अनुसार झरीको पर्वाह नगरी करिब २४ हजार मानिसहरू चियोदा वार्डस्थित संसद् भवन वरपरका सडकमा उत्रिएका थिए । प्रदर्शनकारीहरूले हातमा ‘ग्लो स्टिक’ र विभिन्न नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए । उनीहरूले ‘संविधान संशोधन रद्द गर’ र ‘शक्तिको बलमा शान्ति स्थापना हुन सक्दैन’ जस्ता नाराहरू लगाएका थिए ।
‘शान्ति संविधानको रक्षाका लागि आपतकालीन कदम’ नाम दिइएको उक्त प्रदर्शनको आयोजना अनुसन्धानकर्ता र कलाकारहरूको समूह ‘वी वान्ट आवर फ्युचर’ (हामी हाम्रो भविष्य चाहन्छौं) र ‘धारा ९ नभत्काऊ! कार्यकारी समिति’ ले संयुक्त रूपमा गरेका हुन् ।
जापानको हालैको राजनीतिक घटनाक्रमले नागरिकहरूमा चिन्ता बढाएको देखिन्छ । प्रधानमन्त्री सानाय ताकाइचीको नेतृत्वमा रहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले फेब्रुअरी ८ मा भएको प्रतिनिधि सभा निर्वाचनमा ३१६ सिटसहित भारी बहुमत हासिल गरेको छ । संविधान संशोधनका लागि आवश्यक दुई-तिहाइ बहुमत प्राप्त गरेसँगै सरकारले संवैधानिक परिवर्तनको प्रक्रिया अघि बढाउन सक्ने भन्दै विरोध चर्किएको हो ।
यसअघि फेब्रुअरीमा पनि यस्तै प्रदर्शन भएको थियो भने मार्च १० मा भएको अर्को विरोध कार्यक्रममा करिब ८ हजार मानिस सहभागी भएका थिए ।
विरोध र्यालीमा चर्चित जापानी गायिका मिउ साकामोतोले पनि ऐक्यबद्धता जनाएकी छिन् । प्रदर्शनकारीलाई सम्बोधन गर्दै उनले भनिन्, ‘हाम्रो दैनिक जीवनको सानो खुसी जोगाउन पनि यो संविधान अपरिहार्य छ। हामीले यसलाई गुमाउनु हुँदैन ।’
प्रदर्शनमा सहभागी २५ वर्षीय एक युवाले आफ्नो भविष्यका लागि चिन्तित भएर सडकमा आएको बताए । त्यस्तै, ५५ वर्षीय अर्का सहभागीले झण्डै १० वर्षपछि आफू पुनः आन्दोलनमा उत्रिएको उल्लेख गर्दै भने, ‘जापानी हुनुको नाताले संविधानको धारा ९ अन्तर्गत रहेर युद्धको विरोध गर्नु हाम्रो विशिष्ट पहिचान हो ।’
जापानको वर्तमान संविधानको धारा ९ ले युद्धलाई निषेध गरेको छ, जसलाई परिवर्तन गर्ने सरकारको तयारीप्रति जापानभित्रै ठूलो जनमत विभाजित देखिएको छ ।








