टोकियो – जापानको ओसाका सहरका विभिन्न स्थानमा केही दिनदेखि देखिँदै आएको एउटा जङ्गली मृगलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय प्रहरी कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको उक्त मृगको स्वास्थ्य अवस्था सामान्य रहेको र हाललाई सहरको अस्थायी संरक्षण केन्द्रमा राखिने प्रशासनले जनाएको छ ।
गत शनिबारदेखि ओसाकाका सुरुमी, जोतो र मियाकोजिमा लगायतका क्षेत्रमा यो मृग पटक-पटक देखिएपछि स्थानीयमाझ चासो र कौतुहलता बढेको थियो । उक्त मृग छिमेकी प्रान्त नाराको प्रसिद्ध ‘नारा पार्क’ बाट आएको हुन सक्ने अनुमान गरिएको छ, जहाँ हजारौंको संख्यामा संरक्षित मृगहरू रहेका छन् ।
यद्यपि, नाराका गभर्नर माकोतो यामाशिताले उक्त मृगलाई आफ्नो क्षेत्रमा फिर्ता लिन अस्वीकार गरेका छन् । संरक्षण क्षेत्रभन्दा बाहिर भेटिएका वन्यजन्तुलाई कानुनअनुसार ‘जङ्गली जनावर’ मानिने भएकाले यसलाई पुनः पार्कमा हुल्न नमिल्ने उनले स्पष्ट पारेका छन् ।








