समाचार सुन्नुहोस :
काठमाडौँ – पूर्व शिक्षामन्त्री तथा स्वतन्त्र सांसद महावीर पुनले देशको नीति निर्माण प्रक्रियामा कर्मचारीतन्त्रको प्रभाव अत्यधिक भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले अहिले कानुन बनाउने काम मुख्यतः उपसचिव र सहसचिव तहका कर्मचारीले गर्ने गरेको उल्लेख गरे।
यस्तो प्रक्रियाले दूरदृष्टि भएका नेता र विषय विज्ञहरूको सुझावलाई पर्याप्त स्थान नदिएको उनको अनुभव भएको बताए। उनले यसै कारण देशमा कर्मचारीतन्त्र हाबी भएको दाबी गरेका छन्।
पुनले कानुन निर्माणमा सांसद र सम्बन्धित क्षेत्रका विज्ञहरूको सक्रिय भूमिका हुनुपर्नेमा जोड दिएका छन्। कर्मचारीको भूमिका भने तयार भएका विषयलाई कानुनी ढाँचामा मिलाउनेसम्म सीमित हुनुपर्ने उनको धारणा छ। उनले नीति निर्माणमा अत्यधिक प्रशासनिक हस्तक्षेप हुँदा देशले अपेक्षित गति लिन नसकेको पनि उल्लेख गरेका छन्।








