समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले भदौ २३ र २४ गतेका घटनाबारे बनेको जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
बुधबार सानेपास्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आयोगले प्रतिवेदन बुझाइसके पनि सरकारले सार्वजनिक नगरेको भन्दै आपत्ति जनाए। प्रतिवेदन नल्याउँदा विभिन्न शंका–उपशंका उत्पन्न भएको उनको भनाइ छ। पौडेलले आयोगले घटनाको गहिरो अनुसन्धान गरेको विश्वास व्यक्त गर्दै दोषी देखिएकालाई कारबाही गर्नुपर्नेमा जोड दिए। साथै, तथ्य सार्वजनिक नगर्दा अनावश्यक अनुमान फैलिने अवस्था बनेको पनि उनले बताए।
यससँगै उनले आगामी सरकारलाई भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र कानुन सुधारमा सहयोग गर्ने प्रतिबद्धता जनाए। लिपुलेक र लिम्पियाधुराको विषयमा कूटनीतिक पहलमार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने पनि उनको धारणा छ।








