टोकियो – बागलुङमा जन्मिएर कला र खेलकुदका माध्यमबाट नेपाली पहिचानलाई विश्वस्तरमा चिनाउन सफल दुई हस्तीहरु जापानमा सम्मानित भएका छन् । बागलुङ समाज जापानद्वारा आयोजित ‘चैत्राष्टमी मेला-२०२६’ को विशेष समारोहमा लोकप्रिय लोकदोहोरी गायक सूर्य खड्का र कुशल भलिबल खेलाडी भविन थापालाई सम्मान गरिएको हो ।
नेपाली लोक संगीतको संरक्षण र प्रवद्र्धनमा पुर्याएको विशिष्ट योगदानको उच्च कदर गर्दै गायक सूर्य खड्कालाई ‘बागलुङ रत्न’बाट विभूषित गरिएको छ । बागलुङमा जन्मिएका खड्काले आफ्ना दर्जनौँ कालजयी सिर्जनामार्फत नेपाली संस्कृतिलाई प्रवासमा समेत जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेका छन् । विशेषगरी परदेशमा रहेका नेपालीहरुको पीडा, भावना र भोगाइलाई गीतमार्फत प्रस्तुत गर्ने खड्का जापानमा नेपाली लोक संगीतको पर्यायका रूपमा स्थापित छन् ।
सम्मान ग्रहण गरेपछि गायक खड्काले भने, ‘बागलुङ रत्न सम्मान प्राप्त गर्दा म अत्यन्तै गौरवान्वित भएको छु । लोक संगीत मेरो पेशा मात्र नभई जीवनको धड्कन हो । यो सम्मानले मलाई नेपाली कला क्षेत्रमा अझ बढी जिम्मेवारीका साथ अगाडि बढ्ने प्रेरणा र उर्जा थपेको छ ।’
त्यसैगरी, बागलुङको गलकोटमा जन्मिएका अनुभवी भलिबल खेलाडी भविन थापालाई पनि सोही अवसरमा सम्मान गरिएको छ । नेपालको राष्ट्रिय खेल भलिबलको विकास र प्रवद्र्धनमा समर्पित थापालाई एक अनुशासित, दक्ष र उर्जावान् खेलाडीको रूपमा सम्मान गरिएको हो । जापानमा रहेर पनि नेपाली भलिबलको साख जोगाउन र नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न उनले पुर्याएको योगदान अतुलनीय मानिएको छ ।
कार्यक्रममा बोल्दै बागलुङ समाज जापानका अध्यक्ष गुरुप्रसाद सापकोटाले सम्मानित व्यक्तित्वहरुको प्रशंसा गरे । उनले भने, ‘सूर्य खड्काले संगीतको माध्यमबाट र भविन थापाले खेलकुदको माध्यमबाट नेपाली पहिचान र संस्कृतिलाई जापानी समुदायसम्म पुर्याउन अतुलनीय भूमिका खेल्नुभएको छ । उहाँहरु जस्ता प्रतिभालाई सम्मान गर्नु समाजको दायित्व हो र यसले प्रवासमा रहेका नेपालीहरुबीच एकताको सन्देश प्रवाह गर्छ ।’
घुम्टे युवा परिवारलाई उपाधि
चैत्राष्टमी मेलाकै अवसरमा बागलुङ समाज जापानले ‘चौथो रनिङ कप पुरुष भलिबल प्रतियोगिता-२०२६’ को समेत सफलतापूर्वक आयोजना गरेको छ । मार्च ४ तारिखमा टोडा स्पोर्ट्स सेन्टरमा सम्पन्न भएको उक्त प्रतिस्पर्धात्मक प्रतियोगितामा घुम्टे युवा परिवार जापानले उत्कृष्ट प्रदर्शन गर्दै विजेताको उपाधि चुम्न सफल भएको छ । प्रतियोगितामा पिरो स्पोर्ट्स क्लव उपविजेता बनेको छ ।
खेलकुद संयोजक बसन्त थापाले प्रतियोगिताको सफलताप्रति खुशी व्यक्त गर्दै भने, ‘हामीले जापानमा नेपाली भलिबलको स्तरलाई उकास्न यो प्रतियोगिता आयोजना गरेका हौँ । यस वर्षको कडा प्रतिस्पर्धाले जापानमा नेपाली युवाहरुबीच भलिबलको लोकप्रियता र प्रतिभा प्रस्ट पारेको छ ।’
बागलुङ समाज जापानले आयोजना गर्दै आएका यस्ता सांस्कृतिक तथा खेलकुदका कार्यक्रमहरुले जापानमा रहेका नेपालीहरुबीच आपसी भाइचारा बढाउनुका साथै दोस्रो पुस्ताका नेपालीहरुलाई आफ्नो मूल संस्कृति र खेलकुदसँग जोड्न पुलको काम गरेको सहभागीहरुले बताएका छन् ।








