टोकियो – जापानका सुविधा पसलहरू (कन्भिनियन्स स्टोर) को व्यापारमा गत फेब्रुअरी महिनामा १.६ प्रतिशतले वृद्धि भएको छ । यो लगातार १२औँ महिनाको वृद्धि हो ।
‘जापान फ्रान्चाइज एसोसिएसन’का अनुसार सात प्रमुख स्टोरहरूको कुल बिक्री ८ खर्ब ६८ अर्ब ८६ करोड येन पुगेको छ । पसल भ्रमण गर्ने ग्राहकको सङ्ख्यामा केही कमी आए पनि प्रतिग्राहक खर्च गर्ने दर बढ्दा समग्र व्यापारमा सकारात्मक प्रभाव परेको हो । यस वर्षको न्यानो मौसमका कारण कफी, सफ्ट ड्रिङ्क्स र आइसक्रिमको माग बढेकाले प्रतिग्राहक औसत खर्च २.७ प्रतिशतले बढेर ७६२.५ येन पुगेको छ ।
यसका साथै, स्टोरहरूले सञ्चालन गरेका विशेष योजना, ठूला ‘पोर्सन’का खाजा र कुपन वितरणले पनि ग्राहकलाई बढी खर्च गर्न आकर्षित गरेको एसोसिएसनले जनाएको छ । यद्यपि, भारी हिमपात र वर्षा जस्ता प्रतिकूल मौसमका कारण ग्राहकहरूको आगमनमा भने १ प्रतिशतले गिरावट आई १ अर्ब १४ करोडमा सीमित भएको समाचारमा उल्लेख छ ।








