Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – जापानको श्रम बजारमा जनशक्तिको माग उच्च रहे पनि रोजगारीको खोजीमा रहेका विश्वविद्यालयका विद्यार्थीहरूमा ‘जब-हन्टिङ डिप्रेसन’ (जागिर खोज्दा हुने मानसिक तनाव) को समस्या तीव्र देखिएको छ । बजारमा रोजगारीको अभाव नभए पनि प्रतिष्ठित कम्पनीमै नाम निकाल्नुपर्ने दबाब र सामाजिक सञ्जालमा अरूसँग गरिने तुलनाका कारण युवाहरू मानसिक रोगको सिकार भइरहेका छन् ।

जापानको श्रम मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२४ मा मात्रै ४३४ विश्वविद्यालयका विद्यार्थीहरूले आत्महत्या गरेका छन् । विगत तीन वर्षको तथ्याङ्क हेर्दा २१ वर्ष उमेर समूहका विद्यार्थीमा आत्महत्याको प्रमुख कारण ‘भविष्यको करियर सम्बन्धी चिन्ता’ देखिएको छ ।

टोकियोस्थित ‘अबाबा’ नामक स्काउटिङ सेवाले गरेको सर्वेक्षणमा सहभागी ५६४ विद्यार्थीमध्ये ५४.३ प्रतिशतले जागिर खोज्ने क्रममा आफूलाई डिप्रेसन भएको वा त्यस्तै लक्षण महसुस गरेको बताएका छन् । डिप्रेसन महसुस गर्नेहरूमध्ये धेरैले जागिर खोज्ने क्रममा ‘मर्न मन लागेको’ सम्मका नकारात्मक विचार आएको स्वीकार गरेका छन् ।

अहिलेका युवाहरू आफ्ना हरेक सफलता र विफलता सामाजिक सञ्जालमा पोख्छन् । साथीहरूले प्रतिष्ठित कम्पनीमा जागिर पाएको देख्दा आफू पछि परेको महसुस गर्ने र ‘समाजलाई मेरो आवश्यकता छैन’ भन्ने जस्ता सोचले उनीहरूलाई थप चिन्तित बनाउने गरेको अध्ययनले देखाएको छ ।

क्युशु क्षेत्रकी एक २५ वर्षीया युवतीले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘जागिर नपाउँदा मलाई लाग्थ्यो ममा सामाजिक सीप नै छैन । तर पछि बुझेँ, जागिरको अन्तर्वार्तामा सफल हुनु र कार्यक्षेत्रमा दक्ष हुनु फरक कुरा रहेछ ।’ लगातारको असफलतापछि डिप्रेसनमा परेकी उनले विशेषज्ञको उपचार र परामर्शपछि मात्र सामान्य जीवनमा फर्केर अहिले एक मिडिया कम्पनीमा सफलतापूर्वक काम गरिरहेकी छिन् ।

किन्की विश्वविद्यालयकी क्लिनिकल साइकोलोजीकी प्राध्यापक हिरोको मोटोओका विद्यार्थीहरूलाई अनिद्रा वा खान मन नलाग्ने जस्ता लक्षण देखिएमा तुरुन्त विशेषज्ञको सल्लाह लिन सुझाव दिन्छिन् । ‘सबैभन्दा खराब कुरा भनेको एक्लै पीडा सहेर बस्नु हो,’ उनी भन्छिन्, ‘आफूलाई वस्तुगत रूपमा हेर्न सिक्नुपर्छ । कुनै कम्पनीमा जागिर नपाउनु भनेको तपाईं अयोग्य हुनु होइन, बरु त्यो कम्पनीसँग तपाईंको तालमेल नमिलेको मात्र हो ।’

तपाईको प्रतिक्रिया