टोकियो – जापानमा ६० प्रतिशतभन्दा बढी युवतीहरू सन्तान जन्माउन अनिच्छुक देखिएका छन् । सन् २०२५ मा गरिएको सर्वेक्षण अनुसार, सन् २०१८ देखि सुरु भएको वार्षिक सर्वेक्षणमा सन्तान जन्माउन नचाहने महिलाहरूको सङ्ख्या अहिलेसम्मकै उच्च स्तरमा पुगेको हो ।
विशेष गरी पेशागत जीवन (करियर) र सन्तानको पालनपोषणबीच सन्तुलन मिलाउन कठिन हुने देखेपछि धेरै महिलाहरूले सन्तान नजन्माउने निर्णय गरेको सर्वेक्षणले देखाएको छ । व्यक्तिगत प्रयासले मात्र करियर र बालबच्चाको हेरचाह सँगसँगै लैजान असम्भव जस्तै बनेको यथार्थ यस सर्वेक्षणले उजागर गरेको छ ।
१८ देखि २९ वर्ष उमेर समूहका ४ सय अविवाहित युवा-युवतीमाझ गरिएको यस सर्वेक्षणमा केवल ३७ दशमलव ४ प्रतिशतले मात्र आफू सन्तान जन्माउन इच्छुक रहेको बताएका थिए भने ६२ दशमलव ६ प्रतिशतले सन्तान नजन्माउने उत्तर दिएका थिए । लिङ्गका आधारमा हेर्दा, सन्तान नजन्माउने बताउने पुरुषको सङ्ख्या अघिल्लो वर्षको तुलनामा शून्य दशमलव ८ प्रतिशतले बढेर ६० दशमलव ७ प्रतिशत पुगेको छ । उता महिलाहरूको हकमा भने यो सङ्ख्या ११ दशमलव ६ प्रतिशतको ठूलो वृद्धि ल्याउँदै ६४ दशमलव ७ प्रतिशत पुगेको छ । सर्वेक्षणको इतिहासमा सन्तान नजन्माउने चाहना राख्ने महिलाको सङ्ख्या पुरुषको तुलनामा बढी देखिएको यो पहिलो पटक हो ।
सन्तान जन्म र पालनपोषणमा चिन्ता व्यक्त गर्नुका कारणहरूमा ६३ दशमलव २ प्रतिशत पुरुष र ७१ दशमलव ७ प्रतिशत महिलाले ‘आर्थिक भार’लाई मुख्य कारण मानेका छन् । त्यस्तै ५१ दशमलव २ प्रतिशत पुरुष र ६१ दशमलव ४ प्रतिशत महिलाले ‘करियरमा आउने अवरोध’लाई कारण देखाएका छन् । यी दुवै कारकहरूमा पुरुषको तुलनामा महिलाहरूको चिन्ता बढी देखिएको छ ।
यसैबीच, सन्तानको इच्छा राख्ने २५ देखि ४४ वर्ष उमेर समूहका ८ सय विवाहित व्यक्तिहरूमाझ पनि सर्वेक्षण गरिएको थियो । जसमा ५२ प्रतिशत पुरुष र ६४ दशमलव १ प्रतिशत महिलाले सन्तान जन्माउँदा करियरमा बाधा पुग्ने डर रहेको बताएका थिए । सन्तान हुर्काउनकै लागि ५३ दशमलव ३ प्रतिशत पुरुष र ६६ दशमलव .८ प्रतिशत महिलाले जागिर परिवर्तन गर्ने वा सरुवा लिनेबारे सोचिरहेको पाइएको छ ।
गर्भावस्था र सन्तान प्राप्तिको प्रयासका बारेमा कोकसँग सल्लाह गर्नुहुन्छ भन्ने प्रश्नमा, ४३ दशमलव ८ प्रतिशत पुरुष र ४१ दशमलव ४ प्रतिशत महिलाले ‘कसैसँग पनि सल्लाह नगर्ने’ बताएका छन् । यो समूह सबैभन्दा ठूलो देखिएको छ । यसपछि ४१ दशमलव ७ प्रतिशत पुरुष र ३८ दशमलव २ प्रतिशत महिलाले आफ्ना ‘पार्टनर’ (जीवनसाथी)सँग सल्लाह गर्ने बताएका छन् ।
काम गर्ने ठाउँका माथिल्लो तहका कर्मचारी वा सहकर्मीसँग सल्लाह गर्नेहरू भने केवल ४ प्रतिशत मात्र छन् । यसले गर्दा कम्पनीहरूले भविष्यमा आफ्ना कर्मचारीहरूले सन्तान र कामको सन्तुलन मिलाउन नसकी अचानक राजीनामा दिन सक्ने चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । रोहतो फर्मास्युटिकल कम्पनीको सर्वेक्षणले करियर र अभिभावकत्व मध्ये एकलाई मात्र रोज्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गरी दुवैलाई सँगै लैजान सक्ने वातावरण निर्माण गर्नु अहिलेको टड्कारो आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।








