समाचार सुन्नुहोस :
काठमाडौँ – न्युजिल्यान्डलाई पराजित गर्दै भारतले टी–२० विश्वकपको उपाधि जितेको छ। आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको फाइनलमा भारतले ९६ रनको जित निकाल्दै कीर्तिमानी तेस्रो पटक च्याम्पियन बन्न सफल भयो। यससँगै भारत लगातार विश्वकप जित्ने पहिलो टोली बन्न पनि सफल बनेको छ।
पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २५५ रन बनायो। सञ्जु स्यामसनले ४६ बलमा ८९ रन बनाए भने अभिषेक शर्माले ५२ र इशान किशनले ५४ रन जोडे। स्यामसन र किशनबीच तेस्रो विकेटका लागि १०५ रनको महत्वपूर्ण साझेदारी भएको थियो। २५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभरमा १५९ रनमै अलआउट भयो। टिम साइफर्टले ५२ रन बनाए भने कप्तान मिचेल स्यान्टेनरले ४३ रन जोडे। भारतका जसप्रित बुमराहले ४ तथा अक्षर पटेलले ३ विकेट लिए।
यसअघि २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप पनि भारतले जितेको थियो। यसपटक आफ्नै भूमिमा उपाधि जित्दै भारतले अर्को इतिहास रचेको छ।








