अहिले नेपाली राजनीतिमा चुनावी सरगर्मी बढिरहेको छ । यसो हेर्दा देशले जित्नु पर्दैन बरु बाह्रूले हारिदिए मात्रै पुग्छ भन्ने धेरैको भावना पाइन्छ । पङ्क्तिकार परदेशमा रहेरै देशभित्र रहेका आफ्ना आफन्तहरूसँग फोनसंवाद गरिरहँदा यस्तै बुझाइ हो कि जस्तो लाग्छ किनकि नेपालको समस्या विकासको योजना नभएर होइन विकास रोक्ने पुरानो शैलीको राजनीतिक परिपाटी नै हो, त्यसैले यो चुनावलाई कसले जित्छ भन्दा पनि कसले हार्छ भन्ने कोणबाट हेर्नु आजको सबैभन्दा ठूलो आवश्यकता देखिन्छ ।
नेपालमा दशकौँदेखि चुनाव जित्नेहरू देशका लागि होइन आफ्नै पार्टीगत नेटवर्कका लागि जित्दै आएका देखिन्छन् । चुनाव उनीहरूका लागि जनताको भरोसा होइन राज्य स्रोतमा आ-आफ्नो पहुँच बढाउने अस्त्र बनेको छ । विकासको बजेट, नियुक्ति, ठेक्कापट्टा, अनुदान, कर्मचारी सरुवा सबैमा पार्टी होइन गुट हाबी भएको देखिन्छ । यस्तो अवस्थामा देशले जित्नुपर्छ भनेर नारा लगाउन जति सजिलो छ त्यति नै अप्ठ्यारो देशले जित्ने बाटोको पहिलो सुरुवात तिनै पुराना शक्तिहरूलाई हराउनुमा छ ।
पुरानो राजनीतिक संरचनाको सबैभन्दा ठूलो अपराध असफलतामा पनि पुरस्कार पाउने राजनीतिक कुसंस्कार हो । काम नगरे पनि, भ्रष्टाचारको आरोप लागे पनि, जनताले गुनासो गरे पनि चुनावमा फेरि टिकट पाउँछन्, फेरि मन्त्री बन्छन् । यस्तो चक्रब्यूह नटुटेसम्म नयाँ नीति, नयाँ सोच, नयाँ पुस्ता आउनु भनेको बालुवामाथि बनाएको घर जस्तै हो । त्यसैले बाह्रूले हारिदिए मात्रै पुग्छ भन्नुको अर्थ राजनीतिक असफल र बेइमानीहरूलाई यसपालिको नागरिक चेतनाले राजनीतिक रूपमा दण्डित गरोस् भन्ने हो ।
अहिलेको चुनावी अभियानमा देखिने मुख्य प्रवृत्ति भनेकै डरको राजनीति हो । पुराना राजनीतिक दलहरू परिवर्तनदेखि डराएका छन् किनकि परिवर्तन आयो भने उनीहरूको राजनीतिक बेइमानी, विशेषाधिकार र भ्रष्टाचारको साम्राज्य हराउँछ । त्यसैले उनीहरू नयाँ शक्ति र नयाँ अनुहारलाई अराजक, अनुभवहीन, विदेशी एजेन्ट जस्ता ट्याग लगाएर जनता भ्रमित पार्न खोजिरहेका छन् । अब नागरिकहरूले यो बुझ्नु जरुरी छ कि राजनीतिक अनुभव भनेको जनताको सेवा हो, सत्तामा टिकिरहने र सत्ता चलाउने दौड मात्रै होइन । यही विचारले पुराना राजनीतिक दलहरूलाई कमजोर बनाइरहेको छ यसपालि ।
नयाँ पुस्ताले यसपालिको चुनावलाई अब आस्था होइन जवाफदेहिताको रूपमा हेर्न थालेका छन् । आजीवन एउटै पार्टीमा रहेका तर पार्टीभित्रको गलत प्रवृत्तिलाई ‘जदौ’ भनिरहेकाहरू पनि आफ्नो राजनीतिक जीवनलाई दाउमा राखेर पार्टीभित्रै विद्रोह गरिरहेका छन्, जसको ज्वलन्त उदाहरण कांग्रेसका गगन थापा हुन् । पहिला नेता ठूला हुन्थे, जनता साना थिए । अहिले जनता प्रश्न गर्छन्, हिसाब माग्छन्, प्रमाण खोज्छन् । सामाजिक सञ्जाल, वैकल्पिक मिडिया र खुला बहसले एकपक्षीय प्रचारलाई कमजोर बनाएको छ । यो परिवर्तनले सुशासनको सम्भावना बढाएको छ किनकि सुशासनको पहिलो सर्त नै डर होइन जवाफदेहिता हो भन्ने प्रमाणित गरिरहेको छ ।
पुरानो शैली र पुरानो राजनीतिक कुसंस्कारले हार्नु भनेको केवल व्यक्ति हार्नु मात्र होइन, प्रणालीको गलत संस्कारले हार्नु हो । हाम्रो मान्छे भनेर नियुक्ति, हाम्रो ठेक्का भनेर लुट, हाम्रो कार्यकर्ता भनेर अपराधको ढाकछोप यी सबै पुरानो राजनीतिक कुसंस्कारभित्रै छन् । नयाँ पुस्ताले जितेपछि देश तुरुन्तै स्वर्ग हुन्छ भन्ने हुँदै होइन तर पुरानो संस्कार हार्न थालेपछि राज्यको संस्थागत जवाफदेहिता र सुधारको ढोका खुल्नेछ, अनि मात्र सुशासन सम्भव हुन्छ ।
नेपालको वर्तमान चुनावी अभियानमा आम नागरिकको मुख्य अपेक्षा विकास मात्र होइन न्याय पनि हो । भौतिक संरचनाहरू नचाहिने भन्ने हुँदै होइन तर गलत सन्दर्भमा प्रश्न उठाउने नागरिकहरूको चेतनाको स्तर बढ्नु नै नयाँ पुस्ताको प्रभाव हो । सुशासन भनेको विकासको नाममा बजेट सक्ने होइन, विकासको मूल्य घटाउने, गुणस्तर बढाउने र भ्रष्टाचार घटाउने हो । यसमा नयाँ पुस्ताको मानसिकता तुलनात्मक रूपमा बढी व्यावहारिक देखिन्छ ।
बाह्रूले हारिदिएपछि मात्र सुशासनको थालनी हुन्छ भन्नुको निष्कर्ष नै सत्ता र अपराधको गठबन्धन नहोस् भन्ने हो । पुरानो राजनीति जति टिक्छ त्यति नै अपराधीकरण सुरक्षित हुन्छ, नेपालको राजनीतिले यस्तै दृश्य देखाइरहेको छ किनकि पुरानो संरचनामा पैसा, शक्ति र कानुनको सम्बन्ध उल्टो देखिन्छ । कानुनले शक्तिशालीलाई छुँदैन, शक्तिशालीले कानुनलाई आफू अनुकूल चलाउँछन् । यस्तो संरचना कमजोर पार्न चुनाव नै सबैभन्दा ठूलो लोकतान्त्रिक हतियार हो । त्यसैले यसपालि हार महत्त्वपूर्ण हुनेछ, हारले नै पुरानो गठबन्धन सकिन्छ ।
नयाँ पुस्ताका युवाहरू मूल्य प्रणालीमा विश्वास राख्छन्, भ्रष्टाचारलाई अपराध र कामलाई प्रदर्शनभन्दा परिणामले मापन गर्नुपर्छ भन्ने मान्यता राख्छन् । नागरिकलाई सेवाग्राही मात्र होइन, मालिक ठान्छन् किनकि यिनीहरू प्रविधिमा अब्बल भएका कारण संसारका सबै कुरामा अपडेटेड हुन्छन् । यही युवा सोचहरू संस्थामा पस्दै गयो भने प्रशासन, शिक्षा, स्वास्थ्य, सुरक्षा सबै क्षेत्रमा सुधारको दबाब बढ्छ, त्यसैले नयाँ पुस्ता आउनु भनेको संसद्मा सिट बढ्नु मात्र होइन, राज्यको संस्कार बदलिनु पनि हो ।
अन्त्यमा, देशले जित्नु पर्दैन बाह्रूले हारिदिए मात्रै पुग्छ यो नेपाली युवाहरूको निराशा मात्रै होइन वर्तमान नेपाली पुरातनवादी राजनीतिभित्रको यथार्थ हो । हाम्रो देश नेपालको मुख्य समस्या राजनीतिमा नयाँ मान्छे नआउनु होइन पुरानो शैली हटाउन नसक्नु पनि हो । जब पुरानो राजनीतिक शैली हार्छ, तब नयाँ पुस्तालाई काम गर्ने स्पेस खुल्छ, संस्थागत सुधारको सम्भावना बढ्छ र सुशासनको पहिलो पाइला चालिन्छ । त्यसैले यो चुनाव देशले जित्ने खेल होइन, देशले हारिरहेको पुरानो प्रवृत्तिलाई हराउने निर्णायक मौका हो । यसपालि तमाम नेपालीहरूले यो देशको तमाम विकृति र विसंगतिलाई चिर्न विवेकपूर्ण निर्णय गर्न ढिला गर्नु हुँदैन । पङ्क्तिकारले विगत एक दशकभन्दा लामो समय विकसित देशको राजनीति, प्रशासन, राज्य व्यवस्थाका विभिन्न संस्थागत संरचनाहरूको विभिन्न कोणबाट अध्ययन गर्दै गर्दाका अनुभवहरूसँग जोडेर देशको सिस्टम फेरियो भने देश बदलिनेछ भन्ने कुराको मूल्याङ्कन हो यो लेख । जय देश ।
- मोहन खतिवडा -टोकियो, जापान








