Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

फेब्रुअरीमा ८ मा सम्पन्न जापानको मध्यावधि निर्वाचनले जापानी लोकतन्त्रको परिपक्वता र जनताको चेतनाको स्पष्ट सन्देश दिएको छ । स्थायित्व, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिने जापानी जनताको राजनीतिक चेतना यस निर्वाचनमार्फत पुनः उजागर भएको छ । जापानजस्तो विकसित मुलुकमा पनि मध्यावधि निर्वाचन हुनु आफैमा गम्भीर राजनीतिक सन्देश हो । यसले तात्कालिन सरकारप्रति जनतामा देखिएको असन्तुष्टि, नीति–निर्माणमा देखिएका कमजोरी र बदलिँदो सामाजिक–आर्थिक अवस्थाप्रति नेतृत्वको पर्याप्त संवेदनशीलता नदेखिएको संकेत गर्दछ । बढ्दो महँगी, वृद्ध हुँदै गएको जनसंख्या, घट्दो जन्मदर, श्रमशक्तिको अभाव, विदेशी कामदार नीति तथा सामाजिक सुरक्षा प्रणालीजस्ता विषयहरूले आम मतदाताको निर्णयमा ठूलो भूमिका खेलेका देखिन्छन् ।

यस निर्वाचनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको शान्त, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न मतदान प्रक्रिया हो । राजनीतिक प्रतिस्पर्धा तीव्र भए पनि हिंसा, अव्यवस्था वा प्रशासनिक हस्तक्षेपविना जनताले आफ्नो मताधिकार प्रयोग गर्न पाउनु लोकतन्त्रको सबल उदाहरण हो । हार–जितलाई सहज रूपमा स्वीकार गर्ने राजनीतिक संस्कारले जापानी समाजको लोकतान्त्रिक मूल्यलाई अझ बलियो बनाएको छ ।

नेपालजस्ता विकासोन्मुख देशका लागि जापानको निर्वाचनबाट महत्वपूर्ण पाठ सिक्न सकिन्छ । पहिलो, राजनीतिक स्थिरता केवल बहुमतबाट होइन, जनताको विश्वासबाट प्राप्त हुन्छ । दोस्रो, सरकार जनताप्रति जवाफदेही हुन नसके लोकतन्त्रमा निर्वाचनमार्फत परिवर्तन अपरिहार्य हुन्छ । तेस्रो, नीति निर्माण गर्दा दीर्घकालीन सोच, तथ्यमा आधारित निर्णय र सामाजिक संवेदनशीलता आवश्यक हुन्छ ।

साथै, जापानमा रहेका लाखौं नेपाली समुदायका लागि पनि यस निर्वाचनको अर्थ विशेष छ । जापानको राजनीतिक स्थिरता, आप्रवासन नीति र श्रम सम्बन्धी निर्णयहरूले प्रत्यक्ष रूपमा उनीहरूको जीवन र भविष्यलाई असर गर्छ । त्यसैले विदेशमा बसोबास गरिरहेका नेपालीले पनि त्यहाँको राजनीतिक घटनाक्रमलाई चासोका साथ हेर्नु आवश्यक छ ।

यस निर्वाचनबाट सत्तारुढ दल एलडिपीले स्पष्ट दुईतिहाई बहुमत हासिल गरेको छ । जसअनुसार उक्त दलकी नेतृ सानाय ताकाइची पुनः जापानको प्रधानमन्त्रीमा पुनर्वहाली हुने भएकीछिन् । जापानी राजनीतिमा यो एउटा निर्णायक मोडको संकेत हो । उनी केवल एक जापानकी पहिलो महिला प्रधानमन्त्री मात्र होइनन्, उनी स्पष्ट रूपमै राष्ट्रवादी, सुरक्षा–केन्द्रीत र परम्परागत मूल्यको पक्षधर नेतृका रूपमा चिनिन्छिन् । उनको पुनर्वहालीले जापानको आन्तरिक नीति, विदेश नीति र सामाजिक संरचनामा केही मौलिक परिवर्तनहरू ल्याउने सम्भावना प्रबल देखिन्छ ।

सबैभन्दा ठूलो परिवर्तन सुरक्षा र रक्षा नीतिमा देखिन सक्छ । ताकाइची लामो समयदेखि जापानको शान्तिवादी संविधानको धारा ९ लाई पुनव्र्याख्या वा संशोधन गर्नुपर्ने पक्षमा उभिँदै आएकी छन् । उनको नेतृत्वमा जापानले आत्मरक्षा क्षमतामा तीव्र विस्तार गर्न सक्छ, रक्षा बजेट बढ्न सक्छ र अमेरिका–जापान सुरक्षा सहकार्य अझ सशक्त बन्न सक्छ । यसले जापानलाई एशिया–प्रशान्त क्षेत्रमा अझ सक्रिय सुरक्षा भूमिकामा ल्याउनेछ । चीन र उत्तर कोरियाप्रति कडा दृष्टिकोण पनि उनको शासनकालको अर्को प्रमुख विशेषता बन्न सक्छ । सेनकाकु टापु विवाद, ताइवानको सुरक्षा र उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमजस्ता विषयमा जापान अझ स्पष्ट र आक्रामक कूटनीतिक लाइनमा जान सक्ने संकेत देखिन्छ । यसले क्षेत्रीय भू–राजनीतिमा जापानको उपस्थितिलाई मजबुत बनाउनेछ, तर कूटनीतिक तनाव बढ्ने जोखिम पनि रहनेछ ।

आन्तरिक रूपमा, आर्थिक नीतिमा राष्ट्रवादी झुकाव बलियो हुन सक्छ । रणनीतिक उद्योगको संरक्षण, सेमीकन्डक्टर र रक्षा प्रविधिमा आत्मनिर्भरता र विदेशी निर्भरता घटाउने नीति प्राथमिकतामा पर्न सक्छ । यद्यपि, यसले खुला बजार अर्थतन्त्रमा केही सीमितता ल्याउन सक्ने आलोचना पनि हुने सम्भावना छ । विशेषतः विदेशी श्रमिक नीतिमा कडाइ आउन सक्ने संकेतहरू पनि छन् । यसले जापानमा बसोबास गर्ने नेपाली समुदायलगायत विदेशी कामदारलाई प्रत्यक्ष असर पार्न सक्छ ।

तपाईको प्रतिक्रिया