Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जापानमा टाइप-२ मधुमेहको उपचारका लागि स्वीकृत औषधि ‘मन्जुरो’लाई युवापुस्ताले वजन घटाउन प्रयोग गर्न थालेपछि चिकित्सकहरूले गम्भीर स्वास्थ्य जोखिमको चेतावनी दिएका छन् । सामाजिक सञ्जालको प्रभावका कारण तीव्र रूपमा तौल घटाउने नाममा यो औषधिको अनधिकृत प्रयोग (अफ्-लेबल युज) बढ्दो छ ।

विशेषगरी टिकटक जस्ता डिजिटल प्लेटफर्ममा इन्फ्लुएन्सरहरूले यो औषधिको प्रचार गरेपछि २० देखि ३० वर्ष उमेर समूहका महिलाहरू यसतर्फ आकर्षित भएका हुन् । ओसाकाकी एक २० वर्षीया युवतीले सामान्य फोन परामर्शका भरमा अनलाइनमार्फत यो औषधि खरिद गरेको र प्रयोगपछि आफ्नो तौल अत्यधिक घटेर ‘अण्डरवेट’ (४२ केजी) भएको बताइन् । त्यस्तै, अर्की एक युवतीले पहिलो सुई लगाएपछि नै गम्भीर वाकवाकी, ज्वरो र मानसिक तनाव (डिप्रेसन) जस्ता समस्या झेल्नुपरेको अनुभव सुनाइन् ।

शोवा मेडिकल युनिभर्सिटीकी प्राध्यापक केइको किसिमोटोले अनलाइन वा फोन परामर्शका भरमा यस्ता औषधि सिफारिस गर्नु चिकित्सकिय आचारसंहिता विपरीत भएको बताएकी छिन् । ‘बिरामीको भौतिक परीक्षण बिना उनको स्वास्थ्य अवस्था ठम्याउन सकिँदैन,’ उनले भनिन्, ‘गैर-चिकित्सकीय प्रयोजनका लागि विज्ञापन गरेर यस्ता औषधि बेच्नु घातक हुन सक्छ ।’

विज्ञहरूका अनुसार, यसरी अनधिकृत रूपमा प्रयोग गरिएको औषधिको साइड इफेक्ट भएमा सरकारी राहत सुविधा पाउन कठिन हुन्छ । जापानको स्वास्थ्य मन्त्रालयको २०२४ को सर्वेक्षण अनुसार, २० वर्ष उमेर समूहका ५ देखि ६ जनामध्ये एक महिला ‘अण्डरवेट’ छन् । समाजमा ‘दुब्लो हुनु नै सुन्दर हुनु हो’ भन्ने गलत मान्यता र सामाजिक सञ्जालमा सम्पादन गरिएका तस्बिरहरूले युवाहरूलाई असुरक्षित आहार र औषधिय प्रयोगतर्फ धकेलिरहेको ‘माई वेल बडी काउन्सिल’ का कार्यकारी निर्देशक योसिफुमी तामुरा बताउँछन् ।

तपाईको प्रतिक्रिया