समाचार सुन्नुहोस :
काठमाडौँ – छिमेकी देशमा निपाह भाइरसको सङ्क्रमण देखिए पनि नेपालमा यसको जोखिम हाल न्यून रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यद्यपि, सम्भावित जोखिमलाई ध्यानमा राख्दै मन्त्रालयले सबैलाई सतर्क रहन आग्रह गरेको छ।
मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जारी गरेको विज्ञप्तिअनुसार देशभरका स्वास्थ्य संस्था र निकायलाई पूर्वतयारीका रूपमा सतर्क गराइएको छ। साथै, निपाह भाइरस पहिचानका लागि अन्तरिम परीक्षण एल्गोरिदम तयार गरिएको छ। विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी तथा दक्षिण–पूर्वी एसिया क्षेत्रमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्याङ्कन गरे पनि सावधानी अपनाउन मन्त्रालयले अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नआत्तिन तर सचेत र जिम्मेवार बन्न आग्रह गरेका छन्।
उनका अनुसार फलफूल राम्ररी पखालेर खाने, तरकारी राम्रोसँग पकाउने, उमालेको पानी पिउने, हात साबुनपानीले धुने र भीडभाडमा मास्क लगाउनेजस्ता उपाय अपनाउनुपर्छ। शङ्कास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ मा तुरुन्त सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।








