टोकियो – लागुऔषध वा अपराधी पत्ता लगाउन प्रहरीले कुकुरको प्रयोग गरेको त हामीले सुनेकै छौँ, तर जापानमा अचेल एउटा अनौठो कामका लागि कुकुरको माग ह्वात्तै बढेको छ । त्यो हो- ‘उडुस’ पत्ता लगाउन ।
जापानको हस्पिटालिटी क्षेत्रमा पछिल्लो समय उडुसको आतङ्क बढेसँगै तालिमप्राप्त कुकुरहरूको प्रयोग तिनको खोजी र नियन्त्रणका लागि गर्न थालिएको छ । मानिसले आँखाले हेरेर करिब ३० प्रतिशत मात्र उडुस फेला पार्न सक्छन् । तर, विशेष तालिम प्राप्त कुकुरले आफ्नो तीक्ष्ण सुँघ्ने क्षमता प्रयोग गरेर ९५ प्रतिशतसम्म उडुस वा तिनका फुलहरू पत्ता लगाउन सक्ने अध्ययनले देखाएको छ । ५ देखि ८ मिलिमिटर मात्र हुने यी परजीविहरू बिस्तारा र फर्निचरका कुनाकाप्चामा लुक्ने भएकाले मानिसका लागि फेला पार्न निकै कठिन हुन्छ ।
दोस्रो विश्वयुद्धपछि जापानमा उडुसको समस्या करिब नियन्त्रणमा आएको थियो । तर, कोभिड-१९ महामारीपछि विदेशी पर्यटकको आगमन बढेसँगै उनीहरूको लगेज र जुत्तामार्फत उडुस पुनः जापान भित्रिएको विशेषज्ञहरूको भनाइ छ। तथ्याङ्क अनुसार सन् २०२३ र २०२४ मा उडुससम्बन्धी गुनासाहरू अघिल्ला वर्षभन्दा निकै बढेका छन् ।
‘एल’ नामको २ वर्षीय बिगल जातको कुकुर र उसका ह्यान्डलर अतारु सिमोयामा अहिले व्यस्त छन् । असान्ते इन्क अन्तर्गत रहेका यस्ता कुकुरले हजारौँ होटल कोठाहरू निरीक्षण गरिसकेका छन् ।
यद्यपि, होटल सञ्चालकहरू भने कुकुर प्रयोग गरेको कुरा सार्वजनिक गर्न हिचकिचाउँछन् । ‘कुकुर प्रयोग गरेको थाहा पाउँदा ग्राहकले यहाँ उडुसको प्रकोप रहेछ भनेर गलत अर्थ लगाउन सक्ने डर व्यवसायीमा छ,’ ह्यान्डलर सिमोयामा बताउँछन् । उनीहरू भने नियमित जाँचले होटल सुरक्षित छ भन्ने सन्देश जाने गरी जनचेतना जगाउन प्रयासरत छन् ।








