टोकियो – जापानमा स्याहारकर्ता (केयरगिभर) हरूबाट वृद्धवृद्धामाथि हुने दुर्व्यवहारका घटनाहरूले नयाँ रेकर्ड कायम गरेको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो सर्वेक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०२४ मा देशभर दुर्व्यवहारका १ हजार २ सय २० घटना पुष्टि भएका छन् ।
मन्त्रालयका अनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा ८.६ प्रतिशतले बढी हो । चिन्ताजनक विषय के छ भने, यस्ता घटनामा वृद्धि भई रेकर्ड कायम भएको यो लगातार चौथो वर्ष हो ।
सार्वजनिक प्रतिवेदनमा उल्लेख भएअनुसार, पुष्टि भएका १ हजार २ सय २० घटनाहरूमा कुल २ हजार २ सय ४८ जना वृद्धवृद्धाहरू पीडित भएका छन् । एउटै घटना वा स्थानमा एकभन्दा बढी व्यक्ति पनि दुर्व्यवहारको शिकार भएको पाइएको छ । दुःखद कुरा, दुर्व्यवहारकै कारण पाँच जना पीडितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
दुर्व्यवहारको प्रकृति विश्लेषण गर्दा शारीरिक हिंसा सबैभन्दा बढी देखिएको छ। प्राप्त तथ्यांक (बहु-उत्तरसहित) अनुसार:-
-
शारीरिक दुर्व्यवहार (कुटपिट तथा बन्धन): ५१.१ प्रतिशत
-
मानसिक दुर्व्यवहार (गालीगलौज): २७.७ प्रतिशत
-
बेवास्ता (हेरचाहमा लापरबाही/नेग्लेक्ट): २५.७ प्रतिशत
चेतना र संयमको अभाव मुख्य कारण
सर्वेक्षणले दुर्व्यवहार बढ्नुका पछाडि मुख्यतया दुर्व्यवहार, अधिकार संरक्षण र शारीरिक बन्धन सम्बन्धी ज्ञान र चेतनाको अभावलाई प्रमुख कारण मानेको छ । यसबाहेक, स्याहारकर्तामा व्यावसायिक नैतिकता र सिद्धान्तको कमी तथा तनाव र भावनात्मक संवेग नियन्त्रण गर्न नसक्नुलाई पनि उल्लेखनीय कारणका रूपमा औंल्याइएको छ ।
स्थानीय नगरपालिकाहरूमा प्राप्त उजुरी, परामर्श र त्यसपछि गरिएको तथ्य प्रमाणीकरणका आधारमा मन्त्रालयले यो तथ्यांक तयार पारेको हो ।








