Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

जापान सरकारले सन् २०२७ देखि लागू गर्ने घोषणा गरेको नयाँ विदेशी कामदार नीति हाल अन्तर्राष्ट्रिय रूपमा चासोको विषय बनेको छ । तीव्र रूपमा वृद्ध हुँदै गएको जनसंख्या, घट्दो जन्मदर र श्रमशक्तिको अभावसँग जुधिरहेको जापानका लागि यो नीति अपरिहार्य कदमका रूपमा हेरिएको छ । तर, यो नीति केवल श्रम अभाव पूर्ति गर्ने साधन मात्र नभई सामाजिक, आर्थिक र मानवीय पक्षसँग गहिरो रूपमा जोडिएको विषय पनि हो ।

नयाँ नीतिअन्तर्गत जापानले पुरानो ‘टेक्निकल इन्टर्न’ प्रणालीलाई हटाउँदै कौशल–आधारित रोजगारी प्रणाली लागू गर्न लागेको छ । यसले विदेशी कामदारलाई सस्तो श्रमशक्ति नभई आवश्यक सीप भएको श्रमिकका रूपमा स्वीकार गर्ने संकेत गर्दछ । सीमित संख्यामा कामदार भित्र्याउने, निश्चित क्षेत्रलाई प्राथमिकता दिने र चरणबद्ध रूपमा स्थायित्वतर्फ लैजाने संरचनाले नीतिलाई व्यवस्थित बनाएको देखिन्छ ।

यस नीतिको सकारात्मक पक्ष के हो भने, यसले विदेशी कामदारका अधिकार र सुरक्षामा सुधार ल्याउने अपेक्षा गरिएको छ । विगतमा कम तलब, अत्यधिक श्रम, तथा मानवअधिकार उल्लङ्घनका गुनासाहरू व्यापक थिए । नयाँ प्रणालीले पारदर्शिता, कानूनी संरक्षण र सीपको मूल्याड्ढनलाई प्राथमिकता दिएको दाबी गरिएको छ । यसले जापानको अन्तर्राष्ट्रिय छवि सुधार्न पनि मद्दत पुर्‍याउन सक्छ ।

तर, नीतिसँगै चुनौतीहरू पनि उत्तिकै छन् । कामदारको संख्या सीमित गरिनु, भाषा र सीपसम्बन्धी कडा मापदण्ड तथा प्रक्रियागत जटिलताले ठूलो संख्याका राम्रा कामदारहरू बाहिरिन सक्ने प्रवल सम्भावना देखिन्छ । विशेषगरी विकासशील देशका युवाहरूका लागि जापानको श्रमबजारमा रोजगारी पाउने ढोका निकै साँघुरिन सक्छ । साथै, विदेशी कामदारलाई दीर्घकालीन रूपमा जापानी समाजमा घुलमिल गराउने र उनीहरुको भविष्य सुनिश्चित हुने योजना अझै अस्पष्ट देखिन्छ ।

जापानले विदेशी कामदारलाई केवल आर्थिक आवश्यकताका लागि नभई समाजको जिम्मेवार सदस्यका रूपमा स्वीकार गर्न सके मात्र यो नीति सफल हुनेमा शंका गर्ने ठाउँ नरहला । भाषा शिक्षा, सामाजिक समावेशीकरण, स्थायी बसोबासको स्पष्ट बाटो र समान व्यवहार सुनिश्चित नगरेसम्म नीति कागजमै मात्र सीमित हुन सक्छ । जापानको नयाँ विदेशी कामदार नीति अवसर र चुनौतीको संगमका रुपमा लिन सकिन्छ । यसले श्रम अभाव समाधान गर्ने सम्भावना बोकेको छ, तर मानवता, समानता र सुरक्षित भविष्य सहितको दीर्घकालीन दृष्टिकोणलाई आत्मसात नगरेसम्म यसको प्रभाव सीमित रहन सक्छ । यो नीति जापानका लागि सुधारको मार्ग बन्ने हो अर्को विवादको कारण बन्न पुग्ने हो त्यो भने हेर्न बाँकी नै छ ।  

जापानको नयाँ विदेशी कामदार नीतिले नेपाली समुदाय पनि प्रत्यक्ष प्रभावित हुने देखिन्छ । पछिल्ला वर्षहरूमा कृषि, निर्माण, नर्सिङ, होटल तथा सेवा क्षेत्रमा हजारौं नेपाली युवाहरू जापानमा कार्यरत छन् । नयाँ नीतिले सीप, भाषा र संख्या सीमित गरेकाले अब जापानमा रोजगारी सहज रहने छैन । तर, यदि नीति पारदर्शी रूपमा लागू भयो भने कामदारको अधिकार सुरक्षित हुने सम्भावना पनि उत्तिकै छ । विदेशी कामदारका लागि अब जापानमा भाषा, सीप र अनुभवको महत्व अझ बढेर गएको छ । औपचारिक वा अनौपचारिकरुपमा होस् जापानी भाषाको अध्ययन गरेर आफ्नो भाषाको लेभल अभिवृद्धि गर्न र गराउन प्रेरित गर्नुपर्ने आजको आवश्यकता हो । 

जापान सरकारले विदेशी कामदार नीतिमा कडाई बढाईरहेको बेला जापानमा धमिलिएको नेपालीहरुको छबि सुधार्न आवश्यक छ । जापानी समुदायको नजरमा नेपालीहरु त्यो हदसम्मको खराबको सूचीमा नभएको प्रमाणित गरेर देखाउनका लागि अबका हाम्रा गतिविधि जापानी समुदायकेन्द्रीत हुन जरुरी छ । हाम्रा कुरा उनीहरुलाई स्पष्टसंग बुझाउन सकिएको छैन, बुझाउन आवश्यक छ । नेपालीहरुबाट अवाञ्छित गतिविधिहरु हुन नदिन पूर्व तैयारी र सतर्कता अपनाउन अपरिहार्य छ । समाजका अगुवाहरुको यतातिर पनि बेलैमा ध्यान जाओस् ।

तपाईको प्रतिक्रिया