टोकियो – ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेल’ भन्ने मूल नाराका साथ सन् २०१५ मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लब टोकियोले आफ्नो छैठौँ ऐतिहासिक अधिवेशन आयोजना गर्ने भएको छ । जापानको टोकियोस्थित ओकुबोको सोलमारी मुरा हलमा आगामी डिसेम्बर ९ तारिखका दिन उक्त अधिवेशन हुन लागेको हो ।
प्रवासमा रहेर पनि खेलकुदको माध्यमबाट स्वास्थ्य, अनुशासन र सामुदायिक एकताको सूत्रमा बाँध्न सक्रिय यो क्लब, स्थापनाकालदेखि नै टोकियोवासी गल्कोटे तथा आम नेपाली खेलप्रेमीहरूको साझा मञ्चको रूपमा स्थापित छ ।
क्लबका अध्यक्ष दुर्गा बहादुर खत्रीले आगामी अधिवेशन संस्थाका लागि नयाँ दिशानिर्देश र रणनीति तय गर्ने महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । ‘यो अधिवेशनले हामीलाई अझ सक्षम, सङ्गठित र लक्ष्य–केन्द्रित बनाएर अगाडि बढ्न ऊर्जा प्रदान गर्नेछ,’ अध्यक्ष खत्रीले भने, ‘संस्थाको गरिमा उचो बनाउन सम्पूर्ण सदस्य र शुभेच्छुकहरूको सक्रिय सहभागिताको अपेक्षा गरेका छौँ ।’
भलिबल र युवा नेतृत्वमा विशेष जोड
क्लबका महासचिव दिनेश थापाका अनुसार संस्थाले स्थापनाकालदेखि नै भलिबल खेललाई उच्च प्राथमिकतामा राख्दै आएको छ । क्लबले हालसम्म १० औँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता भव्यताका साथ सम्पन्न गरिसकेको छ ।
महासचिव थापाले भने, ‘खेलमार्फत युवाहरूबीच स्वस्थ प्रतिस्पर्धा, मैत्रीपूर्ण सम्बन्ध र सामुदायिक एकता वृद्धि गर्नु हाम्रो प्रमुख लक्ष्य हो । यस वर्षको अधिवेशनले भलिबल प्रतियोगितालाई अझ व्यवस्थित, आकर्षक र सहभागीमैत्री बनाउने दिगो योजना ल्याउनेछ ।’ खेलप्रेमी युवा नेतृत्वको विकास र समाजमा सकारात्मक वातावरण निर्माण गर्न क्लब निरन्तर कटिबद्ध रहेको उनको भनाई छ ।
निष्पक्ष निर्वाचन र सम्मान कार्यक्रम
अधिवेशनले क्लबको नयाँ नेतृत्व समेत चयन गर्नेछ । निर्वाचन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन क्लबका संरक्षक लक्ष्मण कार्कीलाई निर्वाचन संयोजकको जिम्मेवारी तोकिएको छ । संयोजक कार्कीले सबै प्रक्रिया नियमसङ्गत र शिष्टाचार पूर्ण रूपमा अघि बढाइने बताउँदै भने, ‘संस्थाभित्र रहेर कार्यसम्पादन गर्न चाहने जो कोही टोकियोवासी गल्कोटेहरूलाई सकारात्मक भावनासहित नेतृत्वमा आउन आग्रह गर्दछु ।’
अधिवेशनको विशेष आकर्षणका रूपमा सम्मान कार्यक्रम समेत राखिएको छ । समुदाय र खेलकुद क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई क्लबले विशेष सम्मान प्रदान गर्नेछ । उनीहरूको निरन्तर समर्पण र योगदानप्रति कृतज्ञता व्यक्त गर्दै टोकियो क्षेत्रका स्थानीय नेपाली तथा गल्कोटवासीहरूको बाक्लो उपस्थितिमा अधिवेशन भव्य रूपमा सम्पन्न हुने आयोजकले जनाएको छ ।








