
एशियाली भूराजनीति पछिल्ला वर्षहरूमा अत्यन्त जटिल मोडमा प्रवेश गरिरहेको छ । विशेषगरी जापान र चीनबीच बढ्दो तनावले केवल दुबै देशको सम्बन्धलाई मात्र होइन, सम्पूर्ण पूर्वी एसिया र इन्डो–प्यासिफिक क्षेत्रलाई नै अस्थिर बनाउने संकेत गरेको छ । आर्थिक रूपमा गहिरो रूपमा एक–अर्कासँग जोडिए पनि राजनीतिक र सुरक्षात्मक विषयमा दुबै देश एक–अर्काबाट टाढिदै जानु चिन्ताको विषय बनेको छ ।
जापान–चीन सम्बन्ध सदैव सरल भएको कहिल्यै मानिँदैन । दोस्रो विश्वयुद्धको इतिहास, पूर्वी चीन सागरका टापुहरू (सेन्काकु, दियाओयू) को स्वामित्व विवाद र क्षेत्रीय प्रभुत्वको प्रतिस्पर्धा यी सबैले दुबै देशबीच अविश्वासलाई झन् बलियो बनाएको छ ।
चीनले आफूलाई एशियाको प्रमुख शक्ति मान्दै आएको छ भने जापानले अमेरिकी सुरक्षा छातामुनि बसेर क्षेत्रीय सन्तुलन कायम राख्न चाहन्छ । यही भूराजनीतिक प्रतिस्पर्धा आजको तनावको मूल कारण हो ।
हालैका वर्षहरूमा चीनले दक्षिण र पूर्वी चीन सागरमा आफ्नो सैन्य उपस्थिति तीव्र रूपमा बढाएको छ । जापानी जलसिमानाको नजिक चिनियाँ कोस्ट गार्ड र सैन्य जहाजको गतिविधि नियमित जस्तै भइरहेका छन् । यसलाई जापानले आफ्नो राष्ट्रिय सुरक्षामाथिको प्रत्यक्ष चुनौतीका रूपमा लिएको छ । जापानले पनि आफ्नो आत्मरक्षा बललाई आधुनिकिकरण गर्दै रक्षा बजेट ऐतिहासिक रूपमा वृद्धि गर्न थालेको छ । यसरी दुबै देशको सैन्य तयारीले क्षेत्रीय तनावलाई थप उकासेको छ ।
जापानको सुरक्षा नीतिको मेरुदण्ड अमेरिका–जापान रक्षा गठबन्धन हो । अमेरिकी सैन्य आधारहरू जापानमा रहेको तथ्य नै चीनका लागि दीर्घकालीन चिन्ताको विषय बनेको छ । चीन, अमेरिकालाई एशियामा आफ्नो उदयका लागि ठूला अवरोधहरू मध्ये एक मान्छ । त्यसैले चीन–अमेरिका प्रतिस्पर्धा चर्किँदै गएसँगै जापान–चीनको सम्बन्ध पनि स्वाभाविक रूपमा तनावपूर्ण हुँदै गएको देखिन्छ ।
यद्यपि राजनीतिक सम्बन्ध तनावपूर्ण भए पनि दुबै देश आर्थिक रूपमा अत्यन्तै गहिरोगरी जोडिएका छन् । जापानका उद्योगहरू चीनमा ठूलो मात्रामा निर्भर छन्, कच्चा पदार्थ, उत्पादन सञ्जाल, बजार तथा लगानी सबैमा । त्यसैगरी चीनले जापानी प्रविधि र पूँजीलाई महत्वपूर्ण मान्छ । यही आर्थिक अन्तरनिर्भरता नै दुबैलाई खुला संघर्षबाट टाढा राख्ने सबैभन्दा ठूलो कारक बनेको छ । तर, भू–राजनीतिक तनाव निरन्तर बढिरहँदा आर्थिक सहकार्य पनि जोखिममा पर्ने खतरा बढेको छ ।
जापान–चीन तनावरहित सम्बन्ध केवल दुबै देशका लागि मात्र होइन, सम्पूर्ण एशियाका लागि ज्यादै महत्वपूर्ण छ । नेपालजस्ता देशहरू, जसको विदेश नीतिमा चीन र जापान दुवैसँगको साझेदारी महत्वपूर्ण स्थानमा छ, यस तनावले कूटनीतिक सन्तुलन कसरी राख्ने भन्ने प्रश्न उठाएको छ । नेपालले दुवै देशसँग द्विपक्षीय सम्बन्ध मजबुत राख्न चाहे पनि एशियाली शक्ति सन्तुलन बिग्रिँदै जानुले दीर्घकालीन रणनीतिक चुनौती ल्याउन सक्छ ।
एशियाको स्थिरता, आर्थिक विकास र सुरक्षा वातावरणका लागि जापान–चीन बीचको संवाद अपरिहार्य छ । सैन्य प्रदर्शन वा शक्ति प्रदर्शनले कुनै पनि देशलाई वास्तविक समाधान दिन सक्दैन । अन्ततः परस्पर सम्मान, कूटनीतिक संवाद र क्षेत्रीय सहयोग नै यो तनाव कम गर्ने दिगो उपाय हुन् । यदि यो प्रतिस्पर्धा खुला संघर्षमा रूपान्तरण भयो भने, त्यसको असर सम्पूर्ण एशिया मात्र होइन, विश्व–अर्थतन्त्रमै गहिरो रूपमा पर्न जान्छ । जापान–चीनबीचको संवेदनशील भूराजनीतिक अवस्था र सुरक्षा चुनौतीलाई लिएर चिसिएको पछिल्लो सम्बन्ध सौहाद्रपूर्ण कूटनीतिक पहलबाट छिट्टै सुमधुर हुने अपेक्षा छ ।








