काठमाडौं – कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा कर्णाली याक्सले चितवन राइनोजसामु जितका लागि १ सय ६७ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । कर्णालीको यस विशाल योगफलमा ओपनर प्रियांक पन्चलको विष्फोटक ब्याटिङ मुख्य आकर्षण रह्यो ।
टस जितेर फिल्डिङ रोजेको चितवन राइनोजको निर्णयलाई गलत साबित गर्दै कर्णालीका ब्याट्सम्यानहरूले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ६६ रनको बलियो योगफल खडा गरे । कर्णालीका लागि नायक बनेका ओपनर प्रियांक पन्चलले मात्र ४८ बलमा ७ चौका र ६ गगनभेदी छक्काको मद्दतले शानदार ९० रन बनाए । उनी रवि बोपाराको बलमा देव खनालद्वारा क्याच आउट भए पनि त्यसअघि नै टोलीलाई बलियो जग बसाइसकेका थिए ।
अर्का ओपनर म्याक्स ओ’डाउड भने ६ बलमा २ रन बनाएर सैफ जैबको बलमा बोल्ड आउट हुन पुगे । मार्क वाटले २१ बलमा १ चौकासहित १६ रनको योगदान दिए । उनी सोहेल तनवीरको बलमा रिजन ढकालको हातबाट क्याच आउट भए । मध्यक्रममा पवन सर्राफ र नजिबुल्लाह जड्रानले अविजित रहँदै इनिङ्सलाई बलियो अन्त्य दिए । पवन सर्राफले १६ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै आक्रामक २७ रन बनाए भने नजिबुल्लाह जड्रान ४ रनमा अविजित रहे ।
चितवन राइनोजका लागि सोहेल तनवीर, सैफ जैब र रवि बोपाराले समान एक-एक विकेट लिए । अब केहीबेरमा चितवनले जवाफी ब्याटिङ सुरु गर्नेछ, जसका लागि १६७ रनको लक्ष्य चुनौतीपूर्ण रहने देखिन्छ ।








