समाचार सुन्नुहोस :
काठमाडौँ – धनुषाको मिथिला नगरपालिका–२, बेलाचापीस्थित सतलोक आश्रममा सन्त रामपाल जी महाराजको सान्निध्यमा ५१२औँ “दिव्य धर्म यज्ञ दिवस–२०२५” भव्य रूपमा सुरु भएको छ। कार्यक्रमको पहिलो दिन आज बिहान सन्त गरीबदास जी महाराजले लिख्नुभएको अमरग्रन्थ साहेब को अखण्ड पाठ आरम्भ गरी उत्सवको शुभारम्भ गरिएको हो। भक्तजनहरूका अनुसार यो ग्रन्थको निरन्तर श्रवणले जीवनका पापहरू नष्ट भई आत्मिक उन्नति र मोक्ष प्राप्त हुने विश्वास गरिएको छ।
पूर्ण ब्रह्म कबीर उपासक समाज नेपालले यो ग्रन्थले सत्यज्ञानको प्रकाश फैलाउने र मानिसलाई साँचो भक्ति र शान्तिको बाटो देखाउने बताएको छ। यो दिवस कबीर साहेबले ५१२ वर्षअघि काशीमा गरेका दिव्य लीलाको सम्झनामा मनाइन्छ। त्यतिबेला उनले साधारण जुलाहा भेषमा १८ लाख साधु–सन्तलाई तीन दिनसम्म भोजन गराएर प्रत्येकलाई ‘दोहर’ (कम्बल) र सुनको असर्फी उपहार दिएका थिए। त्यस लीलामार्फत उनले सत्य धर्म र आध्यात्मिक जागरणको सन्देश फैलाएका थिए।
कार्यक्रमसँगै तीन दिनसम्म चल्ने अखण्ड भण्डाराको सुरुवात पनि भएको छ, जहाँ देशी घिउमा बनेका लड्डू, जलेबी, हलुवा लगायतका प्रसाद वितरण भइरहेको छ। साथै, ज्योति यज्ञ, दाइजोमुक्त विवाह, रक्तदान शिविर र निःशुल्क नामदीक्षा जस्ता सामाजिक–आध्यात्मिक कार्यक्रमहरू सञ्चालनमा छन्।
आयोजकहरूले सबै श्रद्धालुहरूलाई परिवारसहित उपस्थित भई अखण्ड पाठको पुण्य लाभ लिन र कबीर साहेबको कृपा प्राप्त गर्न आह्वान गरेका छन्।








