समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूलाई विशेष महाधिवेशन नगरी नियमित महाधिवेशनको तयारी गर्न निर्देशन दिएका छन्।
हाल सिंगापुरमा उपचाररत देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र अन्य पदाधिकारीलाई टेलिफोनमार्फत यस्तो सन्देश दिएका हुन्। उनका अनुसार, देउवाले विशेष महाधिवेशनले पार्टीलाई फाइदा नहुने भन्दै नियमित महाधिवेशनमै सहमति खोज्न आग्रह गरेका छन्। यसअघि दुई हजार ४८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको मागसहित कार्यवाहक सभापति खड्कालाई पत्र बुझाएका थिए। तर, सभापति देउवाले त्यो माग कार्यान्वयन नगरी नियमित महाधिवेशनको तयारी गर्न निर्देशन दिएका हुन्।
आइतबारको केन्द्रीय कार्यसमिति बैठक नियमित महाधिवेशनको मितिमा विवाद भएपछि स्थगित भएको थियो। त्यसपछि संस्थापन पक्षका नेताहरूले बैठक बसेर देउवाको निर्देशनबारे जानकारी पाएका थिए। संस्थापन पक्षले प्रतिनिधि सभा अधिवेशनपछि आगामी वैशाखमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेको छ। तर, शेखर कोइराला समूहले मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने अडान लिएको छ। दुई पक्षबीच मिति टुंगो नलागेपछि पार्टीभित्र विवाद अझ बढेको छ।








