समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता १० महिनामा ३०६ जना नेपालीलाई अमेरिकाबाट निष्कासित गरिएको छ। २०२५ जनवरीदेखि अक्टोबरसम्मको अवधिमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका ती नेपालीलाई अमेरिकाले निष्कासित गरेको हो।
यूएस इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले आप्रवासी नियन्त्रण अभियान कडाइका साथ अघि बढाएपछि निष्कासनको संख्या बढेको बताइएको छ। राष्ट्रपति ट्रम्पले गैरकानुनी आप्रवासीहरूलाई नियन्त्रणमा लिने र स्वदेश पठाउने नीति कडा रूपमा लागू गर्न निर्देशन दिएका थिए।
निष्कासित हुनेमध्ये २६० जना पुरुष र ४६ जना महिला छन्। आइसका प्रतिनिधिको निगरानीमा उनीहरूलाई चार्टर विमानमार्फत भारत र कतार हुँदै काठमाडौं ल्याइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागले उनीहरूलाई आफ्नो जिम्मा लिएको थियो।
तथ्यांकअनुसार, जनवरीमा ६, फेब्रुअरीमा १८, मार्चमा ३२, अप्रिलमा २६, मेमा ५८, जुनमा ४२, जुलाईमा १७, अगस्टमा १६, सेप्टेम्बरमा ५३ र अक्टोबरमा ३८ जना नेपालीलाई अमेरिकाबाट निष्कासित गरिएको छ।








