समाचार सुन्नुहोस :
काठमाडौँ – भारतीय महिला क्रिकेट टोलीले पहिलोपटक एकदिवसीय विश्वकपको उपाधि जितेको छ। आइतबार मुम्बईस्थित डीवाई पाटिल रंगशालामा भएको फाइनलमा दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले ऐतिहासिक सफलता हात पारेको हो।
टस हारेपछि ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाउँदै २९८ रन बनायो। भारतका लागि सफाली वर्मा र दीप्ति शर्माले उत्कृष्ट प्रदर्शन गरे। सफालीले ७८ बलमा सात चौका र दुई छक्कासहित ८७ रन बनाइन् भने दीप्तिले ५८ बलमा तीन चौका र एक छक्कासहित ५८ रन जोडे। ओपनर स्मृति मन्धनाले ४५ रन र विकेटकिपर रीचा घोषले ३४ रनको योगदान दिए।
जवाफमा दक्षिण अफ्रिकाको टोली २४६ रनमै समेटियो। कप्तान लौरा वोल्वाड्र्टले शानदार १०१ रन बनाइन् तर टोलीलाई जित दिलाउन सकेनन्। एनेरी डेर्कसन र सुन लुसले समान ३५–३५ रन, ताज्मिन ब्रिट्सले २३ रन बनाए।
भारतका लागि दीप्ति शर्माले घातक बलिङ गर्दै ५ विकेट लिइन्। सफाली वर्माले २ र श्री चरामीले १ विकेट लिए। यो जितसँगै भारतीय महिला टोलीले सीमित ओभर क्रिकेटको इतिहासमा पहिलो विश्वकप उपाधि आफ्नो नाममा लेखाएको छ।








