समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच कात्तिक २० गते पार्टी एकता हुने भएको छ। आइतबार बसेको सचिवालय बैठकपछि प्रवक्ता तथा उपाध्यक्ष अग्नि सापकोटाले सो जानकारी दिएका हुन्।
सापकोटाका अनुसार एकीकृत समाजवादीलगायत एकतामा सहभागी हुने दलहरूको संयुक्त केन्द्रीय समिति बैठक पनि यही मितिमा बस्ने र त्यसपछि एकता घोषणा गरिने तयारी गरिएको छ। एकता प्रक्रियामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहबाट अलग भएका चिरन सीसहितको समूह, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी र राजु कार्की नेतृत्वको नेकपा (समाजवादी) लगायतका दलहरू छन्।
नीति र नेतृत्वमा सहमति भइसकेको बताइएको छ। एकीकृत पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल हुनेछन्। नयाँ पार्टी बहुपदीय संरचनामा नबन्ने र यसको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहने निर्णय गरिएको छ। तत्कालीन कार्यनीति नेपाली विशेषताको समाजवाद र दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवाद रहने तय गरिएको छ।








