समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री बनेपछि सुशीला कार्कीलाई काठमाडौंका मेयर बालेन साहले दुई पटक भेटिसकेका छन्। पहिलो भेट २३ भदौको “युवा संहार” घटनाका बेला भएको थियो। त्यसबेला उनीहरूले तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने विषयमा कुरा गरेका थिए।
दोस्रो भेटमा भने बालेनले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति असन्तुष्टि व्यक्त गरेको चर्चा चलेको छ। तर, प्रधानमन्त्रीको सचिवालयले बिहीबार प्रेस वक्तव्य जारी गर्दै — “गृहमन्त्रीको राजीनामा बालेनले मागेका होइनन्” — भन्दै सो कुरा अस्वीकार गरेको छ। त्यस्तै, बालेनको टिम भने असन्तुष्ट छ, किनभने उनका सल्लाहकार रहेका अर्याल बालेनसँग सल्लाह नगरी गृहमन्त्री बनेका थिए।
शुक्रबार साँझ सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्री कार्कीले भनिन्, “हामी करिब ५–६ पटक भेटिसकेका छौं। म प्रधानमन्त्री बनेपछि पनि दुई पटक भेट भयो। शुक्रबार बिहान पनि फोनमा कुरा भएको थियो। बालेनलाई म छोरो भनी बोलाउँछु, उसले मलाई दिदी भन्छ। उसले गृहमन्त्रीको राजीनामा मागेको होइन।”








