समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) भित्रको असन्तुष्ट समूहले शनिबार काठमाडौंको सुकेधारामा छुट्टै भेला गरेको छ। केहीबेरदेखि सुरु भएको उक्त भेलामा असन्तुष्ट नेताहरू आगामी रणनीतिबारे छलफल गरिरहेका छन्।
शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले नेकपा (माओवादी केन्द्र) लगायतसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो। तर, सो निर्णयप्रति सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरू असन्तुष्ट देखिएका छन्। खनालले नयाँ दल गठन गर्ने घोषणा गरिसकेका छन् भने शनिबारको भेलामा यही विषयमा थप तयारी र रणनीति तय गर्न छलफल भइरहेको सहभागीहरूले बताएका छन्।
भेलामा हालसम्म ८४ जना नेताहरू सहभागी भएका छन्। सहभागी नेताहरूमा झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य विजय पौडेल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, अशेष घिमिरे, अर्जुन राई, दामोदर अर्याल, नरेश शाही, लक्ष्मण लम्साल र आरती लामा लगायत रहेका छन्।








