समाचार सुन्नुहोस :
काठमाडौँ – आज कार्तिक शुक्ल एकादशी, अर्थात् हरिबोधिनी एकादशीका अवसरमा सनातन धर्मावलम्बीले तुलसीको भगवान् विष्णुसँग विवाह गरी यो पर्व श्रद्धा र भक्तिसाथ मनाउँदै छन्। वैदिक परम्पराअनुसार आषाढ शुक्ल एकादशीका दिन आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने चलन छ। यस अवधिलाई ‘चातुर्मास’ भनिन्छ। चातुर्मासभर तुलसीलाई ‘विष्णुप्रिया’का रूपमा पूजा गरेर आजको दिन भगवान् विष्णुसँग विवाह गराउने परम्परा रहिआएको छ।
एकादशीका दिन उपवास बसी नारायणको आराधना गरिन्छ र भोलिपल्ट द्वादशीका दिन हवन गरी व्रत विसर्जन गर्ने चलन छ। धार्मिक विश्वासअनुसार आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आज जाग्ने भएकाले यस दिनलाई ‘हरिबोधिनी’ भनिएको हो। ‘हरि’ अर्थात् विष्णु, ‘शयन’ भनेको सुत्ने र ‘बोध’ भनेको उठ्ने भएकाले हरिशयनी र हरिबोधिनी दुबै एकादशीलाई विशेष मानिन्छ। यी एकादशीलाई ‘ठूली एकादशी’ पनि भनिन्छ।
भविष्यपुराणका अनुसार आजको दिन गरिने स्नान, दान, जप र तप सबै अक्षय फलदायी हुन्छन्। यही दिनदेखि भीष्म पञ्चक व्रत सुरु हुने र पूर्णिमासम्म भगवान् विष्णुको विशेष आराधना गर्ने परम्परा छ। यस अवसरमा देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ।








