समाचार सुन्नुहोस :
काठमाडौँ – बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयले अवरोध गरेपछि काठमाडौं उपत्यकाको फोहोर बोक्ने गाडीहरू बीच बाटोमै रोकिएका छन्। स्थानीयले विभिन्न माग राख्दै सडक अवरोध गरेपछि फोहोर विसर्जन हुन नसकेको हो। हिजोदेखि स्थानीयले फोहोर बोकेका गाडी ल्याण्डफिल साइटमा प्रवेश गर्न दिएका छैनन्। उनीहरूले माग सम्बोधन नभएसम्म फोहोर फाल्न नदिने अडान लिएका छन्। स्थानीयको अवरोधका कारण तीन दिनदेखि बञ्चरेडाँडामा फोहोर विसर्जन रोकिएको छ।
धुनबेँशी नगरपालिका–१ का स्थानीय दीपेन्द्र लामाका अनुसार, फोहोर व्यवस्थापन वैज्ञानिक र व्यवस्थित हुनुपर्ने मागसहित विगतमा भएको सहमति कार्यान्वयन नहुँदा आन्दोलन गरिएको हो। २०७९ जेठ २६ मा काठमाडौं महानगरसँग भएको १८ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने स्थानीयको माग छ। सो सहमतिमा राति मात्र फोहोर फाल्ने, दुर्गन्ध नियन्त्रण गर्ने, लिच्चड नचुहाउने र खोलामा जान नदिने व्यवस्था गर्ने उल्लेख थियो।
ककनी गाउँपालिका–१, २ र धुनबेँशी नगरपालिका–१, २, ३ का स्थानीयले ढाँडेस्थित सडकमा अवरोध गरी गाडी फर्काएका छन्। उनीहरूले मेयर बालेन साह र मन्त्री कुलमान घिसिङ फिल्डमा आएर प्रत्यक्ष वार्ता गर्नुपर्ने माग राखेका छन्। आन्दोलनमा स्थानीय जनप्रतिनिधिहरू पनि सहभागी छन्। फोहोर व्यवस्थापन अवरुद्ध भएपछि काठमाडौं महानगरपालिकाले घर–घरमा फोहोर राख्न आग्रह गरेको छ।








