समाचार सुन्नुहोस :
काठमाडौँ – विद्युतीय कारोबारसम्बन्धी मुद्दामा दलित अभियन्ता खगेन्द्र सुनारलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएको छ। काभ्रेपलान्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार धरौटी लिएर उनलाई छाड्न आदेश दिएको हो।
अधिवक्ता मनिषा गौतमले दायर गरेको जाहेरीका आधारमा सुनारविरुद्ध विद्युतीय कारोबारसम्बन्धी मुद्दा दर्ता भएको थियो। उनी यस मुद्दामा फरार प्रतिवादी रहेका थिए। मन्त्रीमा सिफारिस भएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको सार्वजनिक भएको थियो।
काभ्रे अदालतले गत साउन ५ गते दैलेख प्रहरीलाई सुनारलाई पक्राउ गर्न अनुमतिसहित पक्राउ पुर्जी जारी गरेको थियो। अधिवक्ता गौतमले सुनारले सामाजिक सञ्जालमा गरेको गालीगलौजका स्क्रिनसट प्रमाणका रूपमा पेश गर्दै विद्युतीय अपराधको आरोपमा मुद्दा दर्ता गरेकी थिइन्।








