समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले जे निर्णय गर्छ, त्यसैको आधारमा पार्टी अघि बढ्ने बताएका छन्। दाङको घोराहीमा बिहीबार पत्रकार सम्मेलनमा उनले विघटन असंवैधानिक भएको अडान दोहोर्याउँदै सर्वोच्चको फैसला नै निर्णायक हुने बताए।
उनका अनुसार विगतमा सर्वोच्चले “प्रतिनिधि सभामा सरकार बन्ने सम्भावना रहुन्जेल विघटन गर्न नपाइने” निर्णय गरिसकेको हुँदा अहिलेको विघटन पनि संविधानसम्मत नहुने स्पष्ट देखिएको छ। अदालतले यसबारे अन्तिम व्याख्या गर्ने भएकाले हतारमा निर्णय गर्न नहुने उनको भनाइ थियो।
चुनावको विषय अहिले गौण बनेको बताउँदै पोखरेलले अदालतको फैसला नआएसम्म निर्वाचनबारे निर्णय गर्न नसकिने उल्लेख गरे। “हामी चुनावबाट भाग्ने पार्टी होइनौं,” उनले भने, “तर चुनावका लागि आवश्यक वातावरण बनेपछि मात्रै हामी त्यसको पक्षमा हुन्छौं।”
उनका अनुसार अहिले देशमा भयमुक्त र स्वतन्त्र राजनीतिक वातावरण छैन, जसले निष्पक्ष निर्वाचनमा बाधा पुर्याइरहेको छ। सरकारले राजनीतिक दलहरूलाई निर्वाध रूपमा जनतामाझ जान नदिएको र शान्ति–सुरक्षा प्रत्याभूति पनि कमजोर रहेको उनले बताए।
पोखरेलले सरकारले अपराधी नियन्त्रण र सुरक्षा सुनिश्चित गरेपछि मात्रै निष्पक्ष निर्वाचन सम्भव हुने तर्क गरे।








