समाचार सुन्नुहोस :
काठमाडौँ – अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनदेखि सुनको मूल्य लगातार घटिरहेको छ। गत आइतबार मात्रै सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेर २ लाख ४१ हजार ९०० रुपैयाँमा पुगेको थियो। त्यसपछि सोमबार पुनः २ हजार रुपैयाँले घट्दै सुनको मूल्य २ लाख ३९ हजार ९०० रुपैयाँमा पुगेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज फेरि प्रतितोला २ हजार ९०० रुपैयाँले घटेर सुनको मूल्य २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेर २ हजार ९२० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस करिब ३ हजार ९७५ अमेरिकी डलरमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।








