Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – नेपालको कम्युनिष्ट राजनीतिमा यतिबेला नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बीचको सम्भावित एकताले तरंग सिर्जना गरेको छ । दुवै दलका शीर्ष नेताहरू अनौपचारिक छलफलमा व्यस्त छन्, जसले अन्य कम्युनिष्ट पार्टीहरूमा समेत हलचल पैदा गरेको छ । खासगरी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताका लागि सैद्धान्तिक सहमतिनजिक पुगेको दाबी गरिएको छ ।

पार्टीको नामबाट ‘माओवादी’ हटाएर ‘समाजवादी केन्द्र’ राख्नेबारे छलफल चलेको नेकपा एकीकृत समाजवादीका नेताहरू बताउँछन् । तर, पार्टीभित्र पर्याप्त छलफल नगरी दुई नेताले एकताको निर्णय गर्न लागेको भन्दै दुवै दलभित्र आन्तरिक विवाद चर्किएको छ । एकीकृत समाजवादीसँग एकताको तयारी सार्वजनिक भएपछि माओवादीभित्र तीव्र असन्तुष्टि देखिएको छ । विवाद बढ्दै गएपछि प्रचण्डको सचिवालयले विज्ञप्ति जारी गर्दै एकताको विषयमा अन्तिम निर्णय भइनसकेको स्पष्टीकरण दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले गरेको निर्णय र आवश्यकताअनुसार समाजवादी मोर्चामा आबद्ध राजनीतिक दल तथा अन्य वामपन्थी एवं प्रगतिशील समूहहरूबीच नेपाली समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न एकता तथा संयुक्त मोर्चा निर्माणका लागि वैचारिक तथा सांगठनिक विषयहरूमा घनीभूत छलफल जारी छ । यद्यपि, कुनै पनि दलसँग एकता गर्ने लगायतका विषयमा अन्तिम निर्णय र टुंगो लागिसकेको छैन ।’

सुरुमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई समेत समेटेर एकता गर्ने सहमति भएको थियो । तर, प्रचण्ड एक्कासि माधव नेपालसँगको एकतामा केन्द्रित भएपछि दुवै दलमा विवाद बढेको हो । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले माओवादीसँगको वार्ता सकारात्मक भए पनि टुंगोमा पुग्न बाँकी रहेको बताए । ‘माओवादीसँग मात्र होइन, विप्लव नेतृत्वको नेकपा र अशोक राई नेतृत्वको जसपासँग पनि छलफलमा छौँ । तर माओवादीसँग सैद्धान्तिक रूपमा कुरा मिलेको छ । कात्तिक १२ गतेदेखि बस्ने केन्द्रीय कमिटी बैठकले एकताबारे निर्णय गर्नेछ,’ उनले भने ।

दुवै दलमा चरम असन्तुष्टि
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति विमति जनाउँदै २०७८ भदौमा माधव नेपालको नेतृत्वमा एउटा समूहले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गरेको थियो । २०७९ सालको चुनावमा कांग्रेस र माओवादीसँगको तालमेलबाट केही सिट जिते पनि पार्टीले अपेक्षित सफलता हासिल गर्न सकेन । त्यसपछि केन्द्रीय स्तरका नेता/कार्यकर्ता र जिल्लाका कमिटी नै एमालेमा फर्किएका थिए ।

प्रतिनिधिसभा विघटन भएर मुलुक नयाँ चुनावतर्फ उन्मुख भएको बेला माधव नेपालले माओवादीसँग पार्टी एकताका लागि कसरत गरिरहेका छन् । माओवादीसँग एकताको विषयले नेकपा एकीकृत समाजवादीभित्र पनि ठूलो रडाको मच्चिएको छ । सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित ठूलो पंक्ति तत्काल एकताको विपक्षमा उभिएको छ । नेकपा एकीकृत समाजवादीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले समग्र वाम आन्दोलनको एकताका लागि पार्टीले पहल गर्ने निर्णय गरिसकेको भन्दै माओवादीसँग मात्र गरिने एकताले समग्र वाम एकताको वातावरण बिथोलिने टिप्पणी गरे । विगतमा पनि माओवादीसँग एकताको प्रयास हुँदा झलनाथ खनाल, घनश्याम भुसाल र रामकुमारी झाक्री लगायतका नेताहरूले विरोध जनाएका थिए । नेकपा एकीकृत समाजवादीको एउटा तप्का पार्टी विभाजनको औचित्य पुष्टि हुन नसकेको भन्दै अझै नेकपा एमालेसँगै एकता गर्नुपर्ने पक्षमा छ ।

प्रचण्ड र माधव नेपालले पार्टी एकताको गृहकार्य गरिरहेको समयमा माओवादी केन्द्रका जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने भन्दै अभियान चलाइरहेका छन् । नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्नेबारे माओवादीभित्र पनि सहमति छैन । पूर्वउपमहासचिव जनार्दन शर्मा पक्षधर नेताहरूले पार्टीको महाधिवेशन गर्ने सहमति भइसकेको अवस्थामा फेरि एकताको नाममा नेतृत्व हत्याउने दाउमा प्रचण्ड लागेको टिप्पणी गरिरहेका छन् ।

माओवादी ‘ब्राण्ड’ नछाड्न प्रचण्डमाथि दबाब
नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताका लागि माओवादी केन्द्रले नाम र चुनाव चिह्न छाड्ने सहमति भएको बताइएको छ । तर, शीर्ष तहमा भएको भनिएको यो सहमतिप्रति माओवादी केन्द्रका पार्टी पंक्तिमा असन्तुष्टि देखिएको छ । विचार मिल्ने र वामपन्थी शक्तिहरूबीचको एकताका लागि नाम फेर्ने माओवादीको पुरानै निर्णय हो । तर, नाम र चुनाव चिह्न फेर्ने निर्णयप्रति सिंगो पार्टीपंक्ति सन्तुष्ट देखिँदैन । दुवै छाडेर गएको चुनावमा गठबन्धनको बलमा पनि राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एकीकृत समाजवादीसँग एकता गर्नु उपयुक्त नहुने माओवादी केन्द्रका नेताहरूको तर्क छ ।

नेकपा एकीकृत समाजवादीसँग एकता गर्दा जनयुद्धको भावना नभत्कने र समाजवादको बाटो नबिग्रने गरी अगाडि बढ्नुपर्ने तर्क गर्दै माओवादीका युवा नेता कृष्णकुमार सिंहले भने, ‘पहिला एकदुई चुनावमा चुनाव चिह्न उच्चारण गर्दा अलि लामो भट्याउँदा असहज लाग्थ्यो । तर, पछिल्ला चुनावहरूमा रूख र सूर्य जस्तै स्थापित भइसकेको छ हसिया हथौडा चुनाव चिह्न । तर्क जेसुकै भए पनि भोट कम पाए पनि हसिया हथौडा चुनाव चिह्न मन र जनमा गहिरोसँग परिचित छ । योभन्दा सजिलो, छोटो, स्थापित चुनाव चिह्न खोज्नेहरूलाई रूख र सूर्य छ त ।’

माओवादीका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले पनि पार्टीले नेकपा एकीकृत समाजवादी लगायतसँगको पार्टी एकताका सन्दर्भमा पार्टीको नाम, विचार र कतिपय अरू विषयमा एकीकृत समाजवादीका जिम्मेवार नेताहरूबाट गलत प्रचार गर्ने कोसिस गरिएको टिप्पणी गरे । उनले भने, ‘यो विलकुल गलत तरिका हो । माओवादी केन्द्र हटाएर समाजवादी राख्ने वा समाजवादी हटाएर माओवादी राखेर एकअर्काको मनोविज्ञानमाथि हाबी हुने मानसिकताबाट एकता गर्न खोजिएको विल्कुलै होइन ।’

माओवादी केन्द्रमा नेता जनार्दन शर्मा प्रभाकरको समूह समाजवादीसँग एकतालाई लिएर तीव्र असन्तुष्ट छ । यदि प्रचण्डले नेपालसँग एकता गरे माओवादी छाड्ने तहसम्मको दिशामा यो समूह छलफलमा रहेको बताइएको छ । यही विवादबीच प्रचण्डको सचिवालयले नेकपा एकीकृत समाजवादीसँगको एकताबारे स्पष्टीकरण नै दिनुपर्ने अवस्था बनेको छ ।

एकताका लागि विप्लवको सर्त
माओवादी र नेकपा एकीकृत समाजवादीबीच एकताको चर्चाका बीच नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिष्टहरू बीचको एकताको आवश्यकता झनै बढेको बताए । यद्यपि, विप्लव आफैँ भने तत्काल एकताको पक्षमा देखिँदैनन् । एकता संगठनलाई एक बनाउनेसँग मात्र सम्बन्धित नभएको उल्लेख गर्दै विप्लवले भने, ‘यसका विचार, सिद्धान्त, लक्ष्य, आर्थिक दृष्टिकोण, जीवन व्यवहार, संस्कृतिसहितको एकरूप बुझाइसँग सम्बन्धित छ । यी विषयमा नेतृत्व तहमा पहिलेदेखि गम्भीर छलफल चलेका छन्, तर टुंगो लागिसकेको छैन ।’

महासचिव विप्लवले अन्य पार्टीबीच हुने एकतालाई सकारात्मक ढंगले हेर्ने स्पष्ट पार्दै भने, ‘कम्तीमा कम्युनिष्टहरू बीच विगतमा जस्तो शत्रुतापूर्ण सोच नबनाई प्रधान अन्तरविरोध हल गर्न, देशमा नेपाली विशेषताको समाजवाद (अग्राधिकार सहितको संघीयता) स्थापना गर्न संयुक्त मोर्चा र सहकार्यको नीतिमा काम गर्नुपर्छ ।’ विप्लवको पार्टी माओवादी, एकीकृत समाजवादीसहितको समाजवादी मोर्चामा सहभागी छ । माओवादीका पूर्व-घटकहरूबीच एकताको बेलाबेलामा कुरा उठे पनि त्यसले सार्थकता पाउन सकेको छैन ।

 

तपाईको प्रतिक्रिया