टोकियो – म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले रहष्यमय ढंगबाट जापानमै निधन भएका बादल छन्त्यालको पार्थिव शरिर नेपाल पठाउने लगायतका कार्यका लागि संकलन गरिएको आर्थिक सहयोग रकम आज एक कार्यक्रमका बीच स्व. छन्त्यालका दाजु तेजिन्द्र छन्त्याललाई हस्तान्तरण गरेको छ ।
संकलित रकम ५ लाख ९८ हजार २ सय २२ येन मोना जापानका अध्यक्ष गणेश श्रेष्ठले हस्तान्तरण गरेका हुन् । सो अवसरमा मोना जापानका तर्फबाट सहयोग रकम संलकन अभियानका संयोजक गणेश छन्त्यालले सहयोगदाताहरु सबैलाई धन्यबाद व्यक्त गरे । यसैगरी स्व. बादलका दाजु तेजिन्द्र छन्त्यालले विदेशमा आइपरेको अप्रत्यशित बिपत्तिमा मोनाले गरेको साथ, सहयोग र सहकार्यप्रति आभार प्रकट गरे । उनले भाइ बादलको पार्थिव शरिर नेपाल पठाई दाहसंस्कार गरिएको जानकारी दिए ।
सो अवसरमा बोल्दै मोना जापानका सल्लाहकार तिलक मल्लले दुखद घटनाले हामी सबैलाई मर्माहत बनाएको भन्दै दिवंगत आत्माको चिरशान्तिको कामना सहित श्रद्धाञ्जली व्यक्त गरे । स्व. बादलको अप्रत्याशित मृत्युवरण बारे जनमानसमा अझै एकप्रकारको आशंका रहेकोले सत्यतथ्य छिट्टै नै बाहिर आउने अपेक्षा गरिएको बताए ।
यसैगरी मोना जापानका अध्यक्ष श्रेष्ठले विदेशमा भईपरि आउने आपतविपदमा संभावित सहयोग र सहकार्यमा हातेमालो गर्न मोना जापान सँधै तत्पर रहेको बताए ।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारणबाट सुरु भएको कार्यक्रम मोना जापानका महासचिव सुरेश पुनले सञ्चालन गरेका थिए ।***








