समाचार सुन्नुहोस :
काठमाडौँ – देशभर आज सूर्य उपासना तथा आराधनाको महान् पर्व छठ श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ। छठको दोस्रो दिन पर्ने खरना विधि आज व्रतालुहरूले विधिपूर्वक सम्पन्न गर्दैछन्। यस अवसरमा मधेस, तराई र मिथिलाञ्चलका गाउँ–सहरका पोखरी, नदीघाट र तालतलैया आकर्षक रूपमा सजाइएका छन्।
स्थानीय बासिन्दा र युवाहरूले पोखरी तथा घाटको सरसफाइ गरी रंगीन बत्ती, पण्डाल र टेन्ट लगाएर छठ पर्वको तयारी गरेका छन्। यसले गाउँ–गाउँमा उत्सवको माहोल थपिएको छ। खरनाको दिन व्रतालुहरूले दिनभर निराहार बसेर साँझ अस्ताउँदो सूर्यलाई खीर, रोटी, फलफूल र ठेकुवा चढाएर पूजा गर्छन्। त्यसपछि ती प्रसाद ग्रहण गरी चार दिनसम्म चल्ने छठ पर्वका मुख्य दिनका लागि तयारी सुरु हुन्छ।
भोलि सन्ध्या अर्घ्य र पर्सि बिहान अर्घ्यका लागि घर–घरमा पूजा सामग्रीको तयारी तीव्र बनेको छ। बजारमा बाँसका डोला, सुप, फलफूल, नयाँ कपडा र प्रसादका सामग्री किन्नेहरूको भीड बढ्दै गएको छ।








