समाचार सुन्नुहोस :
काठमाडौँ – कम्युनिस्ट घटकबीच एकताको प्रयास भइरहेका बेला नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकीकरण हुने लगभग निश्चित भएको छ। यस एकतामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई पनि समेट्ने प्रयास भइरहेको छ।
वार्तामा सहभागी नेताहरूका अनुसार माओवादी केन्द्र र नेकपा एसबीच अब एकीकरणमा ठूला मतभेद बाँकी छैनन्। नेतृत्वको टुंगो लगाउने जिम्मा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई दिइएको छ। निर्वाचन आयोगले दल दर्ताका लागि तोकेको समयअघि नै एकीकरण घोषणा गर्ने तयारी भइरहेको बताइएको छ।
पार्टीको चुनाव चिन्हबारे भने अन्तिम सहमति भइसकेको छैन। नेकपा एसले ‘कलम’ कायम राख्ने प्रस्ताव गरेको छ भने माओवादी पक्षले नयाँ चिन्ह खोज्ने सुझाव दिएको छ। सिद्धान्तका रूपमा मार्क्सवाद–लेनिनवाद र नीति रूपमा नेपाली विशेषतासहितको समाजवाद रहने सहमति भएको स्रोतले जनाएको छ।
माओवादीले माओवाद त्याग्नेछ भने नेकपा एसले पहिले नै ‘जनताको बहुदलीय जनवाद’ छाडिसकेको छ। नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी समाजवादी’ वा ‘नेपाली कम्युनिस्ट पार्टी समाजवादी’ मध्ये एक हुने सम्भावना छ।
नेतृत्वको मोडालिटीमा प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक बन्ने प्रस्ताव गरिएको छ। एकीकरणपछि पदाधिकारीहरू मिलाएर नयाँ सचिवालय गठन गर्ने र कमिटीहरू समायोजन गर्ने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।








