समाचार सुन्नुहोस :
काठमाडौँ – अर्बपति उद्यमी एलन मस्कले भविष्यमा कृत्रिम बुद्धिमत्ता (एआई) र रोबोटले संसारका सबै जागिर विस्थापित गर्ने दाबी गरेका छन्। अमेजनले आगामी वर्ष पाँच लाखभन्दा बढी काम स्वचालित बनाउने रिपोर्ट सार्वजनिक भएपछि मस्कले यस्तो प्रतिक्रिया दिएका हुन्।
मस्कले जागिरलाई आफ्नै बारीमा तरकारी उब्जाउने कामसँग तुलना गर्दै भने, “एआई र रोबोटले सबै काम विस्थापित गर्नेछन्। पसलबाट किन्नुको सट्टा आफ्नै तरकारी उमारे जस्तै काम गर्नु ऐच्छिक हुनेछ,” न्युयोर्क टाइम्सका अनुसार अमेजनले पाँच लाखभन्दा बढी पदमा रोबोट प्रयोग गर्ने योजना बनाएको छ। तर कम्पनीले सो रिपोर्टमा प्रयोग भएका कागजात अपूरा भएको दाबी गर्दै यसले आफ्ना भविष्यका रोजगार रणनीतिलाई नदेखाएको स्पष्ट पारेको छ।
अमेरिकी सिनेटर टेड क्रुजसँगको अन्तर्वार्तामा मस्कले भविष्यमा सामान र सेवा लगभग निःशुल्क हुने बताएका थिए। उनका अनुसार “अर्बौँ रोबोटहरूले मानिसका लागि आवश्यक सबै सेवा र उत्पादन लगभग सित्तैमा उपलब्ध गराउनेछन्।” मस्कले भने, “एआई र रोबोटले मानिसको जीवनस्तर अझ उच्च बनाउनेछन्, तर सबैभन्दा ठूलो चुनौती हुनेछ—सन्तुष्टि कसरी पाउने?”








